३२६ म्यानपावर कम्पनीको इजाजत पत्र निलम्बन

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०८२, १४ : १८
३२६ म्यानपावर कम्पनीको इजाजत पत्र निलम्बन

काठमाडौँ । वार्षिक १ सय कामदार विदेश नपठाउने ३ सय २६ म्यानपावर कम्पनीको इजाजत पत्र निलम्बनमा परेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ सय कामदार पनि पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत पत्र निलम्बनमा परेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार दुई वर्षसम्म लगातार वार्षिक १ सय कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीको इजाजत पत्र रद्द गरिने छ । १९ चैत २०७५ मा वैदेशिक रोजगार ऐन संशोधन गर्दै लगातार दुई वर्षसम्म वार्षिक १ सय पनि श्रमिक पठाउन नसक्नेको इजाजत पत्र रद्द गर्ने व्यवस्था गरिएको थियो । त्यसविरुद्ध म्यानपावर व्यवसायीले आन्दोलन गर्नुका साथै हटाउनुपर्ने भन्दै लबिङ गर्दै आएका थिए ।

ऐन अनुसार नै ३ सय २६ म्यानपावर कम्पनीको इजाजत पत्र रद्दको अवस्थामा पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । ती संस्थाको इजाजत पत्र नवीकरणका लागि बाधा अड्काउ फुकाउ मार्फत निर्णय गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस