एजेन्सी । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध डिसेम्बर ३ मा सैन्य कानुन (मार्सल ल) लागु गर्ने प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ । बिहीबार बिहान पक्राउ पुर्जी जारी गरिएको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ ।
यून बुधबार सियोलको एक अदालतमा अभियोजकले अनुरोध गरेको पक्राउ पुर्जीको समीक्षाका निम्ति सात घण्टा लामो सुनुवाइमा उपस्थित भएका थिए । त्यसपछि अदालतको निर्णयको पर्खाइमा उनलाई हिरासत केन्द्रमा लगिएको थियो ।
रूढिवादी यूनलाई दक्षिण कोरियाको संवैधानिक अदालतले गएको अप्रिलमा सैन्य कानुन लागु गर्ने प्रयास र अधिकारको दुरुपयोग गरेको आरोपमा राष्ट्रपति पदबाट हटाएको थियो ।
संसद्ले डिसेम्बर १४ मा यूनलाई महाभियोग लगाउने मतदान गरेको थियो । तर, त्यसनिम्ति संवैधानिक अदालतको स्वीकृति आवश्यक थियो । यूनलाई यसअघि जनवरीमा राष्ट्रपति रहँदा पक्राउ गरिएको थियो । मार्चमा उनको पक्राउ रद्द भएपछि रिहा गरिएको थियो ।
तर, उनले प्रमाण नष्ट गर्न सक्ने जोखिम भएको भन्दै सियोल केन्द्रीय जिल्ला अदालतले बिहीबार पक्राउ गर्नुपर्न आदेश दिएको हो । आइतबार यूनविरुद्ध पक्राउ पुर्जीका निम्ति अनुरोध पेस गर्नुअघि उनीसित दुईपटक सोधपुछ गरिएको थियो । यूनका वकिलले उक्त अनुरोध अत्यधिक र आधारहीन भएको बताएका थिए ।
पूर्वराष्ट्रपति यूनमाथि सत्ताको दुरुपयोग, आधिकारिक कागजात नक्कली बनाएको, दक्षिण कोरियामा सैन्य कानुन लागु गर्ने प्रयासलगायत आरोप लगाइएको छ । उनले यी आरोप अस्वीकार गरेका छन् ।
सैन्य कानुन लागु गर्ने उनको प्रयास असफल भएको थियो । किनभने, प्रदर्शनकारी र सांसदले सैनिकको अवज्ञा गर्दै दक्षिण कोरियाको संसद्मा तुरुन्तै पुगेका थिए । र, सांसदहरूले सैन्य कानुनको आदेश खारेज गर्न मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ असार २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु