चितवन । चितवनमा रहेको एक ठूलो शैक्षिक परामर्श केन्द्रले अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि नक्कली कागजात तयार गरी करोडौं रुपैयाँ असुली गरिरहेको रहस्य खुलेको छ।
सफल खबरलाई प्राप्त कागजात अनुसार, 'एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेस' नामक उक्त संस्थाले आम्दानीको स्रोत, व्यवसाय दर्ता, बैंक स्टेटमेन्ट लगायतका फर्जी कागजात बनाउने गरेको पाइएको छ।
स्रोतका अनुसार, 'एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेस' को कार्यालय भरतपुरको ओरालोमा रहेको बताइएको छ। यसले टाडी, पर्सा , हेटौडा, कावासोती, काठमाडौँ, पोखरा र बुटवल लगायतका देशको अन्य स्थानबाट समेत सेवा दिन्छ भने केन्द्रीय कार्यालय अस्ट्रेलियाको सिड्नीमा रहेको छ। यस संस्थाले 'एक्सपोर्ट मल्टीनेसनल सर्भिसेस' नाममा पनि सञ्चालन हुने गरेको बुझिएको छ।
यस संस्थाका प्रमुख डिल्लीराम अधिकारी हुन्, जसले चितवन सहित ६ वटा शाखाको काम हेर्ने गर्छन्। संस्थाका केन्द्रीय मालिकहरुमा सञ्जीव शर्मा, बद्री अर्याल र सागर अर्याल रहेका छन्।
यस क्रममा कम्पनीले नगरपालिकाको व्यवसाय दर्ता प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयको प्यान प्रमाणपत्र, आम्दानीको स्रोत र बैंक स्टेटमेन्ट जस्ता कागजातहरु नक्कली बनाउने गरेको पाइएको छ। झन् आश्चर्यजनक कुरा त, यी सबै नक्कली कागजातलाई एउटै वकिलमार्फत नोटरी समेत गराइएको स्रोत बताउँछ।
यस धन्दाको निकै ठूलो गिरोह रहेको आँकलन गरिएको छ। स्रोतका अनुसार यस वर्ष मात्रै करिब ३०० वटा नक्कली कागजात तयार पारिएको छ। चितवन मात्रै वार्षिक ५०० देखि ७०० जना विद्यार्थी अस्ट्रेलिया पठाइने गरेको छ। चितवनकै यो सबैभन्दा ठूलो शैक्षिक परामर्श केन्द्र भएको र अस्ट्रेलिया जाने विद्यार्थीमध्ये सबैभन्दा बढी यसैबाट जाने गरेको समेत स्रोतले दाबी गरेको छ।
यसरी संकलित रकम नेपालमा कर नतिरी सिधै अस्ट्रेलिया पठाइने गरेको र नेपालमा कुनै कर चुक्ता नगर्ने गरेको समेत स्रोतले खुलाएको छ। विश्वविद्यालयबाट समेत १० देखि २५ प्रतिशतसम्म कमिसन लिने गरेको र सो रकम पनि विदेशमै राखिने गरेको आरोप छ।
यस प्रकारको कार्य संगठित अपराधको श्रेणीमा पर्ने भन्दै स्रोतले सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिएको छ। यस विषयमा सम्बन्धित सरकारी निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ।
हालैमात्र सागर ( नाम परिवत्रन ) नामका एक विद्यार्थीले सोही कन्सल्टेन्सीबाट भिसा पाएका छन् । उनी पनि फेक डकुमेन्टकै आधारमा भिसा पाउनेमा पर्छन् । उनलाई कन्सल्टेन्सीले सबै कागजात नक्कली बनाइदिएको छ । सफलखबरलाई यस्तैखाले दर्जन भन्दा बढी कागजात आएको छ भने ती सबै सफल खबरसँग सुरक्षित छन् ।
यस्तो कार्यमा कन्सल्टेन्सीका सञ्चालकले खुलेयाम धन्दा गरिरहँदा पनि प्रशासन मौन देखिन्छ नै भविषयमा विद्यार्थीलाई समेत ठुलो धक्का लाग्ने देखिन्छ ।
उसो त असार १३ गते जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचनामार्फत यहाँ सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरुको सूची सार्वजनिक गरेको थियो । असार ८ मा प्रकाशित सूचना बमोजिम असार १५ गतेभित्र पेस हुन आएका १११ वटा संस्थाहरुको निवेदन प्राप्त भएको प्रशासनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, १७ : ३४
लेखकबाट थप