एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपाललाई

सफल खबर संवाददाता

शनिबार, २१ असार २०८२, १३ : १०
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपाललाई

काठमाडौँ । एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले हात पारेको छ। मलेसियामा भएको फाइन खेलमा सिंगापुरलाई दुई विकेटले हराउँदै नेपालले उपाधि हात पारेको हो।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि जोय थापाले सर्वाधिक २४ रन बनाए । शिवांश बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैशीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन जोडे ।

सिंगापुरमा कपिश भेङ्कटरमणले ४ विकेट लिँदा यवान पाण्डेले २ र वेदांश गुप्ताले १ विकेट लिए । त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो । सिंगापुरका लागि ओपनर रोहन अस्टीन अरुणले सर्वाधिक २३ रन बनाए ।

८४ बल खेलेका उनले २ चौका प्रहार गरे । यस्तै कप्तान रिहान नाइकले १५ रन बनाउँदा वेदान्श गुप्ताले १२ र आकाश तेजाले १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सिंगापुरलाई सस्तैमा समेट्नका लागि नेपालका अभय यादव र शुशिलबहादुर रावलले ३/३ विकेट लिए । शुभम खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस