पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित

सफल खबर संवाददाता

विहीबार, १९ असार २०८२, १० : १४
पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित

काठमाडौ । पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

आज (बिहीबार) बिहान ९ बजे उनी अदालतमा उपस्थित भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाठकको आजै बयान हुने र बयानपछि थुनछेक बहस शुरू हुनेछ ।

उनीविरुद्ध गत असार १६ मा विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूरमा साइबर ब्यूरोले मुद्दा दर्ता गरेको थियो ।

साइबर ब्युरोमा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा मुद्दा दायर गरेको थियो । 

अभियोगमा पाठकले युट्युब च्यानलमार्फत् प्रसारण गरेको भिडियोले सामाजिक प्रतिष्ठा, सार्वजनिक नैतिकता, र शिष्टाचारमा आँच पुर्‍याएको तथा चरित्र हत्या गरेको दाबी गरिएको छ । 

उक्त भिडियोमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको हिल्टन होटलमा लगानी रहेको भन्ने सामग्री प्रस्तुत गरिएको थियो । 

पाठकविरुद्ध उजुरी परेपछि साइबर ब्यूरोले यसअघि पाठकलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो । उनी अहिले प्रहरीको फरार सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस