‘आइएमई खल्ती लिमिटेड’ एकीकृत कारोबार थाल्दै

सफल खबर संवाददाता

सोमबार, १६ असार २०८२, १३ : ३१
‘आइएमई खल्ती लिमिटेड’ एकीकृत कारोबार थाल्दै

काठमाडौं । ‘आइएमई खल्ती लिमिटेड’ ले एकीकृत कारोबार शुरु गर्ने भएको छ । आइएमई पे र खल्ती बिचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै मर्जरपश्चात बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ ले एकीकृत कारोबारको मिति टुंगो लागेको हो । आज (सोमवार) दुवै कम्पनीले संयुक्त रूपमा दिएको जानकारीअनुसार उनीहरुले आगामी १ साउनबाट एकीकृत कारोबार थाल्नेछन् । 

खल्ती प्राइभेट लिमिटेडको सम्पूर्ण सम्पती तथा दायित्व आइएमई डिजिटल सोलुसन लिमिटेडले सकार्ने गरी मर्जर प्रक्रिया टुगिंएको छ । मर्जरपश्चात कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरीमा राखिएको छ । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त उनीले पाइसकेका छन् । नेपाल राष्ट्र बैंकले गत ४ असार र कम्पनी रजिष्ट्रारको कार्यालयले १२ असारमा मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

कम्पनीहरुकाअनुसार प्रयोगकर्ताहरूको समायोजन कार्य तिब्र रुपमा चलाइएको छ । यद्यपि अहिले दुवै एप यथावत रुपमा सञ्चालनमा रहने छ । दुवै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू एकीकृत गर्ने तयारी अघि बढेको छ । ‘खल्ती र आइएमई पे दुवैमा भएका प्रयोगकर्ताहरू एकै ट्यापमा एपमा एकीकृत हुनेछन् भने आइएमई पेमा मात्र भएका प्रयोगकर्ताहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिनेछ । नयाँ प्रयोगकर्ताको हकमा भने प्रयोगकर्ताले सिधै खल्ती एप डाउनलोड गरेर नयाँ फिचरमा प्रवेश गर्न सक्नेछन् र आइएमई पे एपको मात्र प्रयोग गरिरहेका प्रयोगकर्ताले पनि अब खल्ती एपबाट नै सेवा सुविधाको उपयोग गर्न सक्नेछन् । 

संयुक्त कारोबारपछि एपको नाम खल्ती भएपनि आइएमई पेमा भएका सबै फिचरहरू त्यहाँ समावेश हुनेछन् । हालसम्म आइएमई पेमा रहेका ग्राहक पनि एक ट्यापमै खल्ती एपमा आवद्ध हुन सक्नेछन् । आइएमई पेमा भएका ब्यालेन्स, रिवार्ड प्वाइन्ट सहजै खल्तीमा स्थानान्तरण हुनेछन् । यस कार्यबाट खल्ती एप सहज र सुविधाजनक डिजिटल प्लेटफर्मको रुपमा स्थापित हुने विश्वास लिइएको छ ।
खल्ती वालेटले आगामी दिनहरुमा प्रयोगकर्ताहरुलाई फिनटेक क्षेत्रमा नयाँ अनुभव प्रदान गर्ने बताइएको छ । एपमार्फत प्रयोगकर्ताहरूले विश्वको कुनैपनि ठाउँबाट पठाएको रेमिटेन्स सजिलै वालेटमा प्राप्त गर्न सक्नेछन् भने एपमार्फत नै बैंक खाता खोल्न, भिजा कार्ड प्राप्त गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस