‘काँटा लगा’ बाट चर्चित अभिनेत्री शेफालीको निधन

सफल खबर संवाददाता

शनिबार, १४ असार २०८२, ११ : ०४
‘काँटा लगा’ बाट चर्चित अभिनेत्री शेफालीको निधन

काठमाडौँ। रिमिक्स गीत ‘काँटा लगा’ बाट चर्चित भएकी अभिनेत्री शेफाली जरीवालाको निधन भएको छ।  भारतीय संचारमाध्यमका अनुसार ४२ वर्षको उमेरमा हृदयघातको कारण उनको शुक्रबार राती निधन भएको हो । 

शेफालीलाई उनका पति तथा अभिनेता पराग त्यागी र अन्य तीन जनाले शुक्रबार राति अचेत अवस्थामा मुम्बईको अन्धेरीस्थित बेलेभ्यू अस्पताल लगेका थिए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए।

शेफालीले सन् २००२ मा रिलिज भएको रिमिक्स गीत ‘काँटा लगा’ मा आफ्नो ग्ल्यामरस लुक्स र नृत्यले दर्शकहरूको मन जितेकी थिइन्। यो गीतले उनलाई ‘काँटा लगा गर्ल’ को उपनाम दिलाएको थियो र भारतीय पप संस्कृतिमा नयाँ युगको सुरुवात गरेको थियो। उनले सलमान खान र अक्षय कुमार अभिनीत फिल्म ‘मुझसे शादी करोगी’ मा सानो तर यादगार भूमिका निभाएकी थिइन्।

साथै, उनले ‘नच बलिए ५’ र ‘बिग बोस १३’ जस्ता रियालिटी शोहरूमा पनि सहभागिता जनाएकी थिइन्, जहाँ उनको जीवन्त व्यक्तित्व र मायालु व्यवहारले दर्शकहरूको मन जितेको थियो।

शेफालीको जन्म सन् १९८२ मा गुजरातको अहमदाबादमा भएको थियो। उनले सरदार पटेल कलेज अफ इन्जिनियरिङबाट सूचना प्रविधिमा मास्टर्स डिग्री हासिल गरेकी थिइन्। उनले सन् २००४ मा मिट ब्रदर्सका संगीतकार हरमित सिंहसँग विवाह गरेकी थिइन्, तर सन् २००९ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो। पछि, सन् २०१५ मा उनले अभिनेता पराग त्यागीसँग विवाह गरेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस