अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०८२, १४ : ४१
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा

चितवन ।  सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुने समय आइसकेको भन्दै पार्टीलाई एकताबद्ध बनाउन आफू केन्द्रित रहेको बताएका छन् ।

काँग्रेसका स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै काँग्रेसभित्र एकले अर्कालाई हराउने रोगको अन्त्य गर्नुपर्ने बताए ।उनले भने, ‘अहिलेको संविधान समावेशी, समानुपातिक छ । सबैको प्रतिनिधित्व हुन्छ। तर, एक्लै कुनै पार्टीको बहुमत ल्याउन गाह्रो छ । हाम्रो पार्टीमा एकले अर्कोलाई हराउने रोग छँदै छ । एक अर्कालाई छेक्न हाम्रोमा लागिहान्छन्, टिकट नपाउने अर्को समूह हराउन लागिहान्छन् । टिकट त एउटा नै त पाउँछ नि ! मेरो रिटायर्डको उमेर भइसक्यो । त्यही पार्टीबाट प्रधानमन्त्री भएँ, अहिले सभापति भएको छु । सबैले पार्टीलाई राम्रो बनाउन लाग्नुपर्छ ।’

उनले संविधान राम्रो भए पनि कुनै पार्टीको सहजै बहुमत नआउने भएकाले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता रहेको बताए । उनले थपे, ‘हिजो माओवादीसँग मिलियो, आज एमालेसँग मिलिएको छ, त्यसका बाबजुद पनि हामीले सबैभन्दा ठुलो पार्टी बनाएका छौँ । ठूलो भए पनि बहुमत छैन । तर, हाम्रो पार्टी एक भयो भने एक्लैले पनि बहुमत ल्याउन सक्छ । यो संविधान पनि हामीले बचाउनुपर्नेछ ।’

 

प्रतिक्रिया दिनुहोस