काठमाडौ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) ले इजरायल, इरान तथा खाडी क्षेत्रका विभिन्न मुलुकहरूमा रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रहन अपिल गरेको छ।
संघका अध्यक्ष महेश श्रेष्ठ र महासचिव बी. आर. लामाले सोमबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा इजरायल–इरानबीचको बढ्दो द्वन्द्वलाई गम्भीर रूपमा लिँदै नेपालीहरूको सुरक्षाका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको खबर सार्वजनिक भइसकेको छ।
"कतार, युएई, बहराइन, कुवेत, साउदी अरेबियालगायत खाडी मुलुकहरूमा रहेका लाखौँ नेपालीहरूको सुरक्षाप्रति हामी चिन्तित छौं," विज्ञप्तिमा भनिएको छ, "ती मुलुकहरूमा रहनु भएका सबै नेपालीहरूलाई सम्बन्धित देशका कानुन, सुरक्षा निकाय र नेपाली दूतावासको निर्देशन पालना गर्न हामी हार्दिक अनुरोध गर्दछौं।"
एनआरएनएले नेपाल सरकारले भारत सरकारको सहकार्यमा इजरायल तथा इरानबाट नेपालीको उद्धारका लागि अघि सारेको कूटनीतिक प्रयासको सराहना गरेको छ। साथै, ती मुलुकहरूमा रहेका संघका सबै राष्ट्रिय समन्वय परिषद्हरूलाई स्थानीय नेपाली समुदायलाई सही सूचना तथा जानकारी उपलब्ध गराउँदै सक्दो सहयोग गर्न आग्रह गरिएको छ।
संघले जारी परिस्थितिको २४ सै घण्टा अनुगमन गरिरहेको र नेपाल सरकार, नेपाली दूतावासहरू तथा एनसीसीहरूसँग निरन्तर सम्पर्कमा रहँदै आवश्यक सेवा पुर्याउन तयार रहेको जनाएको छ।
यसैबीच, इजरायल र इरानबीच युद्धविराम भएको भन्ने समाचारहरू सार्वजनिक भएका छन् भने त्यसबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, ०७ : ५७
लेखकबाट थप