छाता ओढ्दैमा बाहिरिन्छ करोडौँ

पत्रपत्रिकाबाट

सोमबार, ०९ असार २०८२, ०७ : ५८
छाता ओढ्दैमा बाहिरिन्छ करोडौँ

काठमाडौ । वर्षायाम सुरु भएसँगै छाताको प्रयोग बढ्न थालेको छ । त्यसो त अत्यधिक गर्मी र नेपालको सन्दर्भमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिमा पनि यसको प्रयोग अनिवार्य मानिन्छ । नेपालीको जीवनशैलीसँग नै नजिक रहेको यसको प्रयोगमा भने मुलुक विदेशमै निर्भर रहनुपरेको छ । 

नेपाली बजारमा बर्सेनि औसतमा ४५ लाखभन्दा बढी छाता भित्रने गरेको देखिन्छ । पछिल्ला पाँच वर्षको छाता आयातको विवरण हेर्दा यसको माग क्रमिक रूपमा बढेको देखिन्छ । तीन वर्षयता यसको माग अझ तीव्र रूपमा बढेको तथ्याङ्कले पुष्टि गर्छ । बर्सेनि लाखौँ छाताको माग हुने भए पनि मुलुकभित्र यसको उत्पादन नै हुँदैन । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना नेपालले ४६ लाख ५६ हजार थान छाता आयात गरेको छ । यसमा छाताका लागि आवश्यक प्रेम, डन्डी र टेलिस्कोप छाता जोडिएको छैन । त्योसमेत जोड्दा छाता आयातको सङ्ख्या थप ५० हजार थानले बढ्छ ।

वर्षायाम सुरु हुन थालेको चालु आवको बाँकी एक महिनामा पनि यसको आयात थप बढ्ने देखिन्छ । छाता मात्र आयात गर्दा नेपालबाट ११ महिनामा ६२ करोड रुपियाँ बाहिरिएको छ । छाता आयातबापत सरकारले साढे १८ करोड रुपियाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस