वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।
समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात हुँदा एक अर्ब छ करोडले घटेको छ । उक्त अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि यसबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोड रुपैयाँले बढेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ ।
चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ ।
जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड सङ्कलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ ।
गत आवको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड मूल्य पर्ने नौ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ ।
डिजेल आयातबापत कार्यालयले ४१ अर्ब तीन करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा ३६ अर्ब चार करोड सङ्कलन गरेको थियो ।
त्यसैगरी, चालु आवको ११ महिनामा ३५ अर्ब ३४ करोडको चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ ।
जबकी गत आवको ११ महिनामा ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको छ । पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा २० अर्ब ७३ करोड सङ्कलन गरेको थियो ।
यो नाका हुँदै चालु आवको ११ महिनामा ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । गत आवको सोही अवधिमा २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख ३८ हजार बराबरको एलपिजी ग्यास आयात भएको छ । ग्यास आयातबापत छ अर्ब २४ करोड राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा ग्यास आयातबाट पाँच अर्ब १६ करोड सङ्कलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ असार २०८२, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम
वीरगन्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, कति बढ्यो ?
पेट्रोलियम अन्वेषणः ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो
वीरगन्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो