रास्वपा सांसदहरूले जनतालाई नै गुमराहमा राखे : डा. महत

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०८२, १५ : ५४
रास्वपा सांसदहरूले जनतालाई नै गुमराहमा राखे : डा. महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डाक्टर प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्त्वपूर्ण अवसर गुमाएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डा. महतले बजेट वर्षमा एक पटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताएका हुन् ।

उनले कुनै पनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप लगाए । विरोधका बिच पनि प्रमुख प्रतिपक्षी दलले सक्रिय सहभागिता जनाउनु खुसीको विषय भएको बताउँदै उनले मुलुकको वित्त व्यवस्थापनका कुराहरू बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी गरे ।

उनले परिणाममुखी बजेटको आवश्यकतालाई ध्यान दिँदै अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई परिणाममुखी बनाउने कोसिस गरेको जिकिर गरे ।

यस्तो छ डा. महतको भनाई :

दुर्भाग्य हो कि यो छलफलमा निर्धारित समय जुन तोकिएको थियो त्यो दिनदेखि नै छलफल अगाडि बढ्नु पर्थ्यो । विपक्षीमा रहेका दलहरूसँग निरन्तर छलफल पनि सरकारले गर्‍यो र तत्पश्चात् माओवादीलगायतका दलहरूले यो प्रक्रियामा सहभागी हुनुभएको छ । तर, रास्वपाका साथीहरूले पनि यो बहसमा सहभागी भएर गम्भीर छलफल गर्नुपर्थ्यो । बजेट वर्षमा एक पटक आउँछ । त्यो बजेटको तमाम विषयमा चिरफार गर्ने त्यसका कमजोरी, राम्रो पक्ष सबै पक्षमा छलफल गर्ने एउटा महत्त्वपूर्ण अवसर उहाँहरूले गुमाउनुभएको छ ।

मलाई दुःख लागेको छ कि यस्तो महत्त्वपूर्ण विषयमा छलफलमा भाग नलिएर जुन विषय उहाँहरूले उठाउनु हुँदै छ त्यसमा कुनै आधार नै छैन । कुनै पनि आधार नभएको विषयलाई लिएर यो छलफललाई अवरोध गर्नु, छलफलमा भाग नलिनु वास्तवमा जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमाराहमा राख्नु हो भन्ने मलाई लाग्छ । जे भए पनि यो छलफल अगाडि बढेको छ र जिम्मेवारीपूर्वक यस विषयलाई उठाउँदै आउनुभएका अन्य दलहरू प्रमुख विपक्षीले सक्रिय सहभागिता जनाएको छ । यो खुसीको कुरा हो ।

जहाँसम्म बजेटको कुरा छ यो बजेट वास्तवमा हरेक बजेटको लक्ष्य हुन्छ । देशमा आर्थिक समृद्धि सिर्जना गर्नु, आर्थिक अवसरहरू सिर्जना गर्नु, रोजगारी सिर्जना गर्नु, देशको आर्थिक वृद्धिलाई गति दिनु । त्यो गर्नका लागि राज्यको साधन स्रोत कसरी परिचालन गर्ने विदेशी सहयोग कसरी लिने? र आन्तरिक राजश्व कसरी परिचालन गर्ने त्यसको आधारमा राजश्वको एउटा अनुमान गरिन्छ । त्यसको आधारमा राजश्व अनुमान प्रस्ताव गरिन्छ र त्यही प्रस्ताव बमोजिम कसरी विनियोजन गर्ने ? कुन क्षेत्रमा लगानी गर्ने ? पुँजीगत खर्च कहाँ कहाँ गर्ने । पुँजीगत खर्चमा पनि कसरी प्राथमिकता दिने ? बजेटले हाम्रो सामान्य खर्च तलब भत्ताको कुरा, सामाजिक सुरक्षाका कुरा, वित्त व्यवस्थापनका कुरालाई व्यवस्थापन गर्ने विषयमा बजेटले बोल्छ । र यो बजेटले पनि त्यही काम गरेको छ ।

यो बजेटले बजेट विनियोजनमा अराजकता, अनुशासनहीनता, विनियोजन धेरै गर्ने र परिणाम प्राप्त नहुने परिस्थितिको कमीमा यसले काम गरेको छ । सङ्घीय बजेटले ३ करोडभन्दा तलको आयोजना नगर्ने विषय कार्यान्वयनमा अर्थमन्त्री हुनुपर्ने जति सशक्त हुन सक्नुभएन । अर्थमन्त्रीले चार हजारभन्दा बढी आयोजनाहरू कटौती गर्नुभएको छ । बजेटलाई परिणाममुखी बनाउने कोसिस गर्नुभएको छ त्यसको सराहना गर्न चाहन्छु । अहिलेको आवश्यकता भनेको परिणाममुखी बजेट नै हो । 

प्रतिक्रिया दिनुहोस