काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि एमालेको अबको महाधिवेशनबाट तेस्रोपटक अध्यक्ष बन्न चाहन्छन् । उमेर ७४ पुगिसकेको छ, दुई कार्यकाल सकिएको छ । तर उनको आकांक्षा अझै अधुरो छ ।
त्यही आकांक्षाको मार्ग खुला गर्न उनले पटकपटक आफै अध्यक्ष रहेको र आफैले विधानको परिपालन गर्नुपर्ने पार्टी विधानको धज्जी उडाउँदै आएका छन् । तर, यसपटक ओलीलाई त्यति सजिलो नहुने संकेत एमालेभित्र देखा परिसकेको छ । ओलीको ‘अनन्त अध्यक्षत्व’ यात्रामा पार्टीकै दुई उपाध्यक्षले ‘ब्रेक’ लगाउने गरी काउन्टर प्रतिवाद शुरु गरेका छन् । त्या पनि सार्वजनिक रूपमै, चोटिलो काउन्टर दिने गरी ।
एमालेको विधान भन्छ – ७० वर्ष पुगेपछि अवकाश, र कार्यकारी पदमा दुई कार्यकालपछि विश्राम । तर ओलीका लागि यो केवल ‘कागजी’ नियम भयो । ०८० जेठ १९ को सचिवालय बैठकमा उनले मुकुन्द न्यौपानेलाई पार्टीमा भित्र्याउने नाममा ७० वर्षे उमेरहदको व्यवस्था निलम्बन गराए । तर, यो ‘न्यौपाने बहानामा आफैँका लागि मैदान सफा गर्ने’ रणनीति थियो भन्ने कुरा अब प्रष्ट हुँदै गएको छ ।
पार्टीमा अबको लडाइँ ओली अध्यक्ष बन्लान् कि नबन्लान् भन्ने होइन- विधान कि बाँच्छ वर्चस्व ? भन्ने देखिएको एमाले नेताहरु बताउन थालेका छन् । विधान किन बनाइयो ? पालन गर्न कि अपारदर्शी सौदाबाजी गर्न ? उनीहरु प्रश्न उठाउन थालेका छन् ।
पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु महाधिवेशनमा ओलीले खुलेर भने- ‘७० वर्षे उमेर हद फेल खाइसक्यो, म ७४ मा चल्दै छु, चार वर्ष घटाएर रिटायर्ड हुने कुरा भएन नि !’ अनि थपे- ‘कहिलेकाहीँ ७० पुगे पनि हटाउन मिल्दैन, कहिलेकाहीँ ७० नपुगी हटाउनुपर्छ !’ यो भाषामा ‘नियम भन्दा व्यक्ति ठूला’ भन्ने ओलीको मनोविज्ञान छर्लङ्ग देखिन्छ ।
तर ओलीको यो ‘विधान लत्याउने’ प्रयासमा अब पार्टीभित्रैबाट प्रतिरोध सुरु भएको छ । एमालेमा ओलीले आन्तरिक लोकतन्त्रलाई कुल्चने प्रयास धेरै पहिले देखि गर्दै आएका थिए । उनले बोलेका शब्द र गरेका निर्णयमा विमति जनाउने माथी उनले अनुशासनको डन्डा चलाउने गरेका कयौं उदाहरण छन् ।
भाटभाटेनीका साहुले पार्टी कार्यालय बनाउन ओलीले गरेको निर्णयमा मुख खोलेकोमा उनले विन्दा पाण्डे र उषाकिरण तिमिल्सेनामाथी कारवाहीको डन्डा चलाएका थिए । विद्या भटटराईलाई शिक्षामन्त्रीबाट राजीनामा दिन बाध्य पारेको भन्दै असन्तुष्टि पोखेका अष्टलक्ष्मी शाक्यमाथी पनि ओली पार्टी बैठकमै खनिएका थिए ।
आफनो विपक्षमा मत राख्नेहरु पार्टीमा सहज रहन नसक्ने उदाहरण उनले भीम रावललाई पार्टीबाट खेदेर देखाएकै थिए । यत्ति गरेपछि पार्टीमा आफनो मतसँग कुनै नेताले मत बझाउन नसक्ने ठम्याईमा ओलीमा छ । तर ओलीको पछिल्लो चाहना र निर्णयमा एमालेभित्र उकुसमुकुसको धुव्रिकरण सुरु भएको छ । उनकै खम्बा मानिने नेताहरुले नै ओलीको प्रतिवाद गर्न थालेका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टेलिभिजन अन्तर्वार्तामै ओलीको चाहनाको प्रतिवाद गरेका छन् । ‘७० वर्षे हद कुनै व्यक्ति लक्षित व्यवस्था थिएन, यो मान्यताको प्रश्न हो । अब म पनि ७० कटिसकेँ, म पनि अवकाशमा जान तयार छु, तर विधानलाई अपमान गर्न सक्दिन,’ पोखरेलले भनेका छन् ।
अर्का उपाध्यक्ष युवराज ज्ञवाली अझै स्पष्ट छन् । उनले भनेका छन्, ‘ओली अध्यक्ष बन्ने कि नबन्ने होइन, विधान बाँच्छ कि मर्छ भन्ने प्रश्न हो । उमेरहद र कार्यकाल सिमितता अहिले पनि कायमै छ, त्यसलाई महाधिवेशनले हटाए मात्र अर्को कुरा हो ।’
दुवै उपाध्यक्षको भाषामा ओली चाहनाको प्रतिवाद मात्र होइन, विधानको ‘संविधानिकता’ बचाउने आग्रह पनि छ । ओली सधैं चाहन्थे- पार्टीमा आफ्नो विकल्प नहोस्, आफ्नो आदेशलाई चुनौती नहोस् । फरक मत राख्नेहरूलाई उनले पटक–पटक ‘कारबाहीको कोर्रा’ ले सम्झाएका छन् । तर अब ‘भित्रकै घरबाट आगो सल्किन’ थालेको छ ।
पोखरेल–ज्ञवाली मात्र होइन, एकथरी नेताहरू ओलीको जीवनभरि अध्यक्ष बस्ने योजनामा असन्तुष्ट छन् । उनीहरूले पार्टीलाई ‘व्यक्ति–केन्द्रित’ होइन, ‘संस्थागत’ बनाउने आवाज उठाउन थालेका छन् ।
ओलीको विकल्प खोज्ने क्रममा पार्टीभित्र पूर्व राष्ट्रपति विद्या भण्डारीको नाम गुञ्जिन थालेको छ । ओलीकै विश्वासपात्र मानिएकी भण्डारी अब ओलीको ‘ब्याकअप’ बन्ने कि ‘ब्यालेन्स’ बनाउने भन्ने प्रश्न एमालेभित्रै बहसको विषय बन्दैछ । पार्टीमा अबको लडाइँ ओली अध्यक्ष बन्लान् कि नबन्लान् भन्ने होइन- विधान कि बाँच्छ वर्चस्व ? भन्ने देखिएको एमाले नेताहरु बताउन थालेका छन् । विधान किन बनाइयो ? पालन गर्न कि अपारदर्शी सौदाबाजी गर्न ? उनीहरु प्रश्न उठाउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै
सांसदहरूलाई ओलीको निर्देशन-‘संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्’
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री ओली
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष-२०८२ को ‘लोगो’ सार्वजनिक