दोभाषेमार्फत मुद्दाको सुनुवाईबारे तथ्यांक छैन अदालतसँग

विहीबार, २० पुस २०७४, ०९ : १५
दोभाषेमार्फत मुद्दाको सुनुवाईबारे तथ्यांक छैन अदालतसँग

चितवन । जिल्ला अदालत चितवनमा मुद्दाको सुनुवाईमा सहज होस् भनेर ११ भाषाका दोभाषे प्रयोगमा आइरहेका छन्, तर वर्षमा दोभाषेमार्फत कति  वटा मुद्दाको सुनुवाई भयो भन्ने तथ्यांक भने अदालतमा छैन । 
अंग्रेजी, नेवारी, थारु, गुरुङ, हिन्दी, अवधी, मैथली, तामाङ, चेपाङ, भोजपुरी र मगर भाषामा सुनुवाईका लागि दोभाषेको प्रयोग हुँदै आएको छ । अदालतमा आउने सेवाग्राहीलाई भाषाका कारण समस्या नहोस् भनेर दोभाषे राखिएको जिल्ला अदालत चितवनका सूचना अधिकारी केशवप्रसाद पौडेलले जानकारी दिए । 
पौडेलका अनुसार, जिल्ला अदालत चितवनमा मैथली र हिन्दी भाषाको बढी मात्रामा प्रयोग हँुदै आएको छ । सर्वोच्च अदालतले तयार पारेको सूची अनुसारको मात्रै तथ्यांक रहेको उनले बताए । सूचीभित्र नपरेकाले दोभाषे सम्बन्धी तथ्यांक नभेटिएको उनको भनाइ छ । अदालतमा कति मुद्दामा दोभाषेको सदुपयोग भयो भन्ने विषय समेत अदालतमा जानकारी छैन । 
अदालत प्रशासनलाई जानकारी गराएर दोभाषेले सेवा दिने भएपनि प्रशासनले तथ्याङ्क राख्न सकेको छैन । अदालतले निःशुल्क रुपमा दिँदै आएको यस सुविधामा कहाँका कति जनाले सुविधा पाए भन्ने विषयमा जानकारी राख्न नसक्नु अदालत प्रशासनको कमजोरी भएको पौडेलले स्वीकारे । 
देशभरका अदालतमा राम्रो मानिने चितवन जिल्ला अदालतमा सूचीकृत दोभाषेहरुले काम गर्दै आएका छन् । यस अदालतमा एउटा भाषाका लागि एक जनालाई सूचीकृत गरिएको छ । सूचीकृत दोभाषेहरुले प्रभावकारी सेवा दिएका छन् कि छैनन्, सेवाग्राहीले दुःख पाए वा सहज रुपमा सेवा पाए भन्ने विषयमा अदालतसँग कुनै तथ्यांक छैन ।
कार्यालयमा जिम्मेवारी सरी आएका र नयाँ दर्ता भएका १ हजार ९ सय ६९ मुद्दामध्ये ५ सय ५९ मुद्दाको फैसला भइसकेका छन् । ती मुद्दामा कति जनाले दोभाषे प्रयोग गरे भन्ने विषयमा अदालत आफै अनभिज्ञ रहेको छ । अबका दिनमा यसको तथ्याङ्क पनि राखिने सूचना अधिकारी पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस