तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।
योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । पश्चिम खण्डतर्फ तीन किमी एकतर्फी बाँकी कालोपत्र गर्न बाँकी रहेको र जेठको अन्तिमसम्म एकतर्फी कालोपत्र सक्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
पश्चिम खण्डतर्फ १२ मध्ये दश पुल सम्पन्न भएका छन् भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट निर्माण सकिएको उनले जानकारी दिए ।
यो खण्डमा ४२४ विद्युत् पोल हटाउन बाँकी रहेको र यसले गर्दा काममा केही ढिलाइ भएको उनको भनाइ छ । तालचोकदेखि आदर्शचोकसम्म र डाँडाको नाकदेखि विजयपुरसम्मको पोल हटाउन ढिलाइ हुँदा काममा समस्या भएको उनले बताए । उक्त पोल एक साताभित्र हटाउने भन्ने प्रतिबद्धता आएकाले असार मसान्तसम्म कोत्रेदेखि सेतीपुलसम्मको चार लेन काम सम्पन्न गरिसक्ने उनको भनाइ छ ।
२०७८ साल जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिजले सात अर्ब ४० करोडमा पाएको थियो ।
पूर्वीखण्ड अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको काम भने करिब अन्तिम चरणमा पुगेको छ । यो खण्डको काम ८५ प्रतिशत सकिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा कालोपत्र करिब सकिएको इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यो खण्ड अन्तर्गत अब मादी पुल नजिक र विमलनगरको एकतर्फी मात्रै कालोपत्र गर्न बाँकी छ । दमौली बजारमा पनि कालोपत्र अन्तिम चरणमा पुगेको छ ।
यो खण्डको म्याद तेस्रो पटक थपिएकोमा आगामी २९ गतेसम्म रहेकामा त्यस अवधिभित्रै काम सम्पन्न गरिने पाण्डेले बताए । पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध
बाढी पहिरोका कारण चार स्थानमा सडक पूर्णरुपमा अवरुद्ध
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत
नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी
कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...
गुणस्तरहीन सडक निर्माणको स्थानीयद्वारा विरोध