बाँके । भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्न थालेको छ । भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अन्य अव्यवस्थित बसोवासीलाई छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्न थालिएको हो ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घननाथ खनालका अनुसार समितिले हालसम्म कोहलपुर नगरपालिका– १ मा एक सय १७ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको छ भने सोही वडाका ६८ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको छ ।
बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत तवरले काम भइरहेको उनको भनाइ छ । उनले सानातिना विवादमा नअल्झिएर फिल्डमा खटिएका प्राविधिकहरूलाई आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरे ।
आयोगले अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको छ । पहिलो चरणमा कोहलपुर– १ मा बसोवास गर्दै आएका ६८ अव्यवस्थित बसोवासीलाई जग्गा दर्ता गरी प्रमाणपुर्जा वितरण गर्ने निर्णय भएको अध्यक्ष खनालले जानकारी दिए ।
‘कोहलपुर– १ का ६८ अव्यवस्थित बसोवासीलाई जग्गा दर्ता गर्ने सातदिने सूचना प्रकाशन गरिसकिएको छ’, खनालले भने, ‘सात दिनभित्र तोकिएको राजस्व रकम जम्मा गरी घरपरिवारमूली उपस्थित हुन सूचित गरिएको छ ।’
सूचनामा तोकिएको प्रक्रिया पूरा गरी आवश्यक कागजातसहित कार्यालयमा आउनासाथ जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने अध्यक्ष खनालले बताए । आयोगले कोहलपुर– १ का थप आठ सय ६४ अव्यवस्थित बसोवासीको दाबीविरोधका लागि सूचना प्रकाशन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन