साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

सफल खबर संवाददाता

शनिबार, २४ जेठ २०८२, १० : ४९
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबिच साइकल यात्राको महत्त्व झनै बढ्दै गएको बताएका छन् । 

आज काठमाडौँमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवस तथा विश्व वातावरण दिवसको अवसर पारेर “वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिने बताए ।

उनले भने, “साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ सहरको सन्देश पनि पुर्‍याउँछ । हामी सबैले व्यक्तिगत तथा सामूहिक दुवै तहमा हरित भविष्यको कल्पना गर्नुपर्छ ।”

मन्त्री यादवले सरकारले वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्न आवश्यक नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउँदै विद्यालय, कार्यालय, तथा स्थानीय तहहरूमा समेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नु पर्ने समेत आग्रह गरे ।

उनले भने, “स्वस्थ जीवन, हरित वातावरण र साकार सकारात्मक सोच प्रवर्द्धन गर्ने यस्तो प्रेरणादायी कार्यक्रम सबै ठाउँमा गर्न आवश्यक छ । साइकल प्रयोगलाई प्रोत्साहन गर्न हामी सबै लाग्नु पर्छ ।”

वातावरण जोगाउन र प्रदूषण मुक्त समाज बनाउन मारवाडी सेवा समाजले अगुवाइ गरी उल्लेख्य भूमिका निर्वाह गरेको बताउँदै मन्त्री यादवले वातावरण सफा कसरी गर्ने, हाम्रो वातावरण कसरी स्वच्छ राख्ने सो विषयमा लाग्नु पर्ने उनको भनाइ थियो । उनले भने “जलवायु परिवर्तनका कारण सेता हिमाल काला हुन थालेका छन् । हिमाल बचाउन जरुरी छ । जलवायु परिवर्तन हाम्रा लागि निकै चुनौतीको विषय बनेको छ । यो चुनौतीको समाधान गर्न आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस