कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०८२, ११ : ३२
कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने

मकवानपुर ।  हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न उक्त सडक ४ दिन बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले ४ दिन सडक बन्द गरिएको जनाएको हो । प्रशासन कार्यालयको सूचना अनुसार जेठ २१ देखि २४ गतेसम्म सडक पूर्ण रूपमा बन्द हुनेछ ।

सो अवधिमा हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने सवारी साधनलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरिएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण उक्त सडक खण्डको बगुवा स्थित बागमती खोलाको पुलसम्मको पहुँच मार्ग बगाएको थियो ।

बाढीले पहुँच मार्ग बगाएपछि सो सडकमा डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो । वर्षा याम सुरु भएसँगै बागमती खोलाको बाढीले डाइभर्सन बगाउने, सवारी साधनमा क्षति पुगेपछि साने स्थानमा बेलिब्रिज राख्ने तयारी थालिएको हो ।

प्रतिक्रिया दिनुहोस