बनियानी । आज बिहानदेखि परेको अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त डाइभर्सन वर्षासँगै आएको बाढीले बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
बाढीले डाइभर्सनसँगै सडक बगाएपछि वैकल्पिक मार्ग प्रयोग भइरहेको उनले बताए । आवागमनका लागि सोही स्थानको पश्चिमतर्फ कालिखोला हुँदै शान्तिगाँउ वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कमा आउने वैकल्पिक रुट प्रयोगमा ल्याइएको छ । सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ ।
यता, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले मोबाइल एसएमएसमार्फत जनाएको छ । थप वर्षा हुने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा बाढी आउन सक्ने जनाउँदै आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जल स्तर बढ्यो
बाढीले मध्य पहाडी लोकमार्ग अवरुद्ध
पाकिस्तानको पन्जाबमा १४ लाख मानिस बाढीको जोखिममा
पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता
यी जिल्लामा आज बाढी र पहिरोको जोखिम
मनोहराको सुकुम्बासी बस्तीमा बाढी पस्न नदिन अस्थायी तटबन्ध लगाउँदै वाईसीएल