गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दुई ‘सिफ्ट’ मा

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०८२, १६ : ०८
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दुई ‘सिफ्ट’ मा

चितवन । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रातिको समयमासमेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो ।

करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको थियो । यससँगै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिए । हाल बिहान ७ देखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुरले काम गरिरहेका र यो सङ्ख्या २०० भन्दा बढी पुग्ने उनले बताए ।

“असारसम्म ४० प्रतिशत काम गर्ने गरी जनशक्ति परिचालन गर्न थालिएको छ । हाल भौतिक प्रगति २० प्रतिशत हाराहारी रहेको छ । प्याराफिटहरूमा सेन्टिङका काम भइरहेकाले छिट्टै प्रगति देखिने छ । यसअघि  आवश्यक रड र सिमेन्ट समयमा पाउन नसक्दा समस्या भएको थियो”, सञ्चालक गौतमले भने । 

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रंगशाला पुगेकी महानगर प्रमुख दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गरेको थियो । उनले चालु आर्थिक वर्षका लागि प्राप्त बजेट नै ‘फ्रिज’ हुनसक्नेतर्फ सचेत रहन आग्रह गरेका थिए । संघीय सरकारले रु. २५ करोड र बागमती प्रदेश सरकारले रु. १० करोड रंगशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ । बजेट सुनिश्चित र निकासाका लागि निकै मेहनत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गरेका थिए ।

महानगरले गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखेर रंगशाला निर्माण गरिरहेको छ । रंगशालाको प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । रंगशालामा दुई वटा भिआइपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्न नसकेपछि महानगरलाई स्वामित्व हस्तान्तरण गरेको थियो ।  महानगरले स्वामित्व लिएर संघीय, प्रदेश तथा महानगर आफैँले समेत लगानी गर्ने गरी बि.सं. २०८१ साउनबाट रंगशालाको काम सुरु गरिएको हो । रु. ७८ करोडमा ठेक्का लगाइएको हो ।

महानगरका इन्जिनियर सन्तोष आचार्यका अनुसार क्रिकेट मैदानसहित पाँच वटा पिच, ढलसहित मैदान निर्माण, दुई वटा तीनतीन तलाको भिआइपी टावर बनाइनेछ । एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । १० हजार अट्ने प्यारापिट बन्नेछ । ३० महिनाभित्र निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

 

प्रतिक्रिया दिनुहोस