‘दलतन्त्र’को एकाधिकारले गणतन्त्रको मर्ममाथि प्रहार भयो' : रास्वपा

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०८२, ०९ : ०४
‘दलतन्त्र’को एकाधिकारले गणतन्त्रको मर्ममाथि प्रहार भयो' : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘दलतन्त्र’को एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार भइरहेको बताएको छ । 

सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्तिको अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमा परेको रास्वपाको ठहर छ । 

नागरिकका स्वभाविक आकांक्षा र सामान्य चाहनासमेत सम्बोधन नहुँदा उनीहरूमा बढेको निराशा आक्रोशमा रूपान्तरण हुँदै गएको भन्दै रास्वपाले यो व्यवस्थाको स्थायीत्वका लागि शुभसंकेत नभएको प्रष्ट पारेको छ । 

“नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ हुन्  । तर, आज यी स्तम्भ कति बलिया छन् भन्ने प्रश्न हाम्रासामु टड्कारो रूपमा खडा छ,” रास्वपाले गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना दिँदै भनेको छ । 

राज्य र शासकले नागरिकको आवाज र उनीहरूको जीवनस्तर सुधारको चाहना मात्र होइन आफू र आफ्नै संरचनाको जनमैत्री रुपान्तरणमा निरन्तर गरेको बेवास्ता व्यवस्थाप्रतिकै विश्वास घटाउने मुख्य कारण भएको रास्वपाको भनाइ छ ।   
“प्रमुख दुई दलको सत्ता समीकरणको रसायन भनिएको संविधान संशोधनलाई उनीहरूले नै रणनीतिक रूपमा ओझेलमा पारेका छन्,” शुभकामना सन्देशमा उल्लेख छ, “नागरिकले शासकीय स्वरुप र शैली तथा केही गणतान्त्रिक संरचनाप्रति व्यक्त गर्दै आएको असन्तुष्टिको सम्बोधनसहित गणतन्त्रलाई थप गतिशील बनाउन संवैधानिक सुधार अपरिहार्य भइसक्यो ।” 

नयाँ सोच र विचारमा जनादेशसहित अगाडि आउन खोजेका वैकल्पिक राजनीतिक दलविरुद्ध राज्य र राज्य संरक्षित समूहको प्रहारले लोकतान्त्रिक प्रतिस्पर्धाको मर्ममै आक्रमण गरिरहेको रास्वपाको भनाइ छ । यसले स्थापित शक्तिहरू परिवर्तन र नयाँपनप्रति कति असहिष्णु छन् भन्ने प्रष्ट्याएको सन्देशमा उल्लेख छ । 

रास्वपा सभापति रवि लामिछानेमाथि साँधिएको प्रतिशोधले गणतान्त्रिक मूल्य–मान्यता तथा राज्यका अंग र संरचनाप्रति नै अविश्वास बढाएको भन्दै सन्देशमा उल्लेख गरिएको छ, “रवि लामिछाने प्रकरण राज्यका तीनवटै निकायले व्यक्तिमाथि गरेको संगठित अपराधको निकृष्ठ उदाहरण हो ।” 

राजनीतिक शक्ति सन्तुलनका आधारमा व्यवस्थापिकाले दिएको प्रतिवेदन कार्यान्वयनको आवरणमा कार्यपालिकाले झुटा मुद्दा लगाएको भन्दै पार्टी कार्यवहाक सभापति डोल प्रसाद अर्यालले शुभकामना सन्देशमा भनेका छन्, “न्यायपालिकाबाट समेत कार्यपालिकाको अभिष्टको अस्थायी अनुमोदन हुनुले विधिको शासनप्रति संशय बढाएको छ । संस्थागत राजनीतिक प्रतिशोधका यस्ता घटनाले विधिको शासनलाई कमजोर बनाउँछ र नागरिकमा भय पैदा गर्छ ।” 

यद्यपि, गणतन्त्र नै रास्वपाले रोजेको र स्थापित गरेको सर्वोत्तम व्यवस्था भएको सन्देशमा उल्लेख छ । 

गणतन्त्र दिवसले आत्मसमीक्षा गर्न, विगतका गल्तीबाट सिक्न र गणतन्त्रका आदर्शलाई जीवन्त राख्न थप प्रतिबद्ध हुने प्रेरणा प्रदान गर्ने विश्व गर्दै रास्वापाले भनेको छ, “आगामी दिनमा दलहरूले आफ्नो एकाधिकारवादी चिन्तन त्यागेर नागरिकका आकांक्षालाई केन्द्रमा राखी संविधानको गतिशील संशोधन र कार्यान्वयनमा ध्यान दिनेछन् ।” 

राजनीतिक प्रतिशोधको भावनाबाट माथि उठेर स्वस्थ लोकतान्त्रिक अभ्यासलाई प्रवद्र्धन गर्ने पनि रास्वपाको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस