पूर्वपञ्चहरुको ‘लञ्च’ बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको द्विविधा, यसरी भयो छताछुल्ल

पर्दा पछाडिबाट राजनीतिक कमिसारका रुपमा ‘निर्देशन’ मात्रै दिने की प्रत्यक्ष फिल्डमै देखिने ?

सफल खबर संवाददाता

शुक्रबार, ०९ जेठ २०८२, १० : ३५
पूर्वपञ्चहरुको ‘लञ्च’ बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको द्विविधा, यसरी भयो छताछुल्ल

काठमाडौं । मरिसकेको राजसंस्था पूर्नंस्थापनाको ‘भूत सवार’ भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह पछिल्लो समय पर्दा पछाडिबाट सक्रिय हुन थालेका छन् । प्रत्यक्ष आफैं राजनीतिक कमिसार बन्दै उनले राप्रपाका ‘थाङना’ बनिसकेका नेताहरुलाई फिल्डमा कमाण्डर बनाएर परिचालन गर्न थालेका छन् । 

चारतिर मुख फर्काएर बस्ने र एक- अर्काको अस्तित्व समेत स्वीकार गर्न नसक्ने राजावादी राप्रपाका नेताहरुलाई पटक -पटक लञ्च बैठक गराएर संगठित गर्ने रणनीति ज्ञानेन्द्रले बनाएका छन्। यसकाममा एक हदसम्म सफल बनेका पूर्व राजा ज्ञानेन्द्र त्यसबाट नै हौसिएका छन् । कहिले नगरकोटको एकान्तबासमा, कहिले निर्मल निवासमा त कहिले सोल्टी होटलमा शाहको हालको राजनीतिक सक्रियता उनमा सवार भएको देख्न सकिन्छ । 

बैशाख अन्तिम साता पूर्वराजा शाह १२ दिनसम्म नगरकोटको सोल्टी 'वेस्टइन्ड रिसोर्ट' मा बसे । त्यहीँबाट उनले राजावादी धारका नेताहरूसँग गोप्य संवाद थाले । विशेषतः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्टजस्ता परस्पर अविश्वासमा रहेका नेताहरूलाई एउटै टेबलमा ल्याउनु शाहको महत्वपूर्ण रणनीतिक ‘ब्रेकथ्रु’ मानिएको छ ।

उनी प्रतीक्षामा छन् — ‘सही समय’ र ‘सही अनुहार’ को खोजीमा । जसले उनलाई फेरि गद्दीमा फर्काई देओस् ।  उनले मरिसकेको राजसंस्था फर्कने दिवास्वप्न पालेर जे खेल खेल्न खोजेका छन्, त्यो नेपाली राजनीतिमा अव सहज सम्भव भने देखिदैन ।

यी नेताहरू विगतमा राजावादी आन्दोलनको असली नेता को भन्ने गम्भीर विवादमा थिए । तर, नगरकोट संवादपछि उनीहरू एउटै मञ्चमा लञ्च खान र फोटो खिचाउनसम्म तयार भएको संकेत मिलेको छ । 

नगरकोट संवादपछि उनीहरुले हात मिलाउँदै एउटा कार्यक्रममा देखा परेका छन्। त्यसपछि दोस्रो चरणमा ज्ञानेन्द्रले जेठ ८ (हिजो) सोल्टी होटलमा ‘संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग लञ्च मिटिङ गरे ।  

यो भेट जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि निरन्तर आन्दोलन थाल्ने घोषणा गरिएको बेला भएको हो । राजनीतिक सन्देश स्पष्ट छ - ज्ञानेन्द्र पुनः राजनीतिक केन्द्रमा फर्किन चाहन्छन्, तर प्रत्यक्ष नभई ‘किङ मेकर’को भूमिकामा । 

२०८० चैत १५ को तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले दुर्गा प्रसाईंलाई आन्दोलनको नेतृत्व दिएका थिए । निर्मल निवासमा भेटेर उनले सुवेदीलाई आन्दोलनको संयोजक र प्रसाईंलाई फिल्ड कमाण्डर तोकेका थिए । तर तीनकुनेको झडप, जिउँदै पत्रकारसम्मलाइ जलाएर मारिएको घटना, घरहरु देखि सञ्चारमाध्यमसम्मको तोडफोड,गिरफ्तारी र त्यसको अपजसपछि शाह स्वयं पन्छिन थाले ।

अहिले ‘राजसंस्था समर्थक आन्दोलन’लाई चोख्याउने, दुर्गा प्रसाईंलाई बलीको बोको बनाउने र लिङदेन, थापा, विष्ट र सुवेदीलाई मिलाएर नयाँ शिराबाट आन्दोलनलाई पुनः जिवित गर्ने प्रयास भइरहेको देखिन्छ । पूर्वराजा र उनीसँग जोडिएका नेताहरू अहिले प्रत्यक्ष ‘राजसंस्था फर्काऊ’ भन्दा जनताको साथ नदेखिने र बलशाली हुन नसक्ने देखेपछि आन्दोलनको नाराभित्र जनजीविकाका मुद्दालाई पनि जोडेर लैजान चाहिरहेका छन् । 

त्यसका लागि उनीहरुले २० लाखसम्मको ऋण मिनाहाको नारा अगाडी सारेका छन् । बैंकको कालोसूची हटाउने, मिटरब्याज, लघुवित्त र सहकारी पीडितलाई राहत दिलाउने जस्ता नाराहरू सामाजिक असन्तोषको भूमिमा राजनीतिक समर्थन रोप्ने प्रयास गर्न थालिएको छ्  ।

शाह र उनका सल्लाहकारहरूले बुझिसकेका छन् - जनताको विश्वास पुनः जित्न केवल  ‘राजा फर्काऊ’ पर्याप्त छैन, आर्थिक पीडामा परेकाहरूलाई सम्बोधन गर्नु जरुरी छ । यही भएर ज्ञानेन्द्र र उनका आन्दोलनका कमाण्डरहरुले जनजीविकाको मुद्दा पनि सँगै उठाउन लागेका छन् । चाहे ‘संयुक्त जनआन्दोलन समिति’ को संयोजन होस्, वा नगरकोट वार्ताको व्यवस्थापन -पछाडि अदृश्य रूपमा योजनाकारको रूपमा ज्ञानेन्द्र नै छन् । 

अहिलेसम्म आफू प्रत्यक्ष मञ्चमा नदेखिए पनि, सबै निर्णय उनकै ‘निर्देशनमा’ भइरहेको स्रोतहरू बताउँछन् । २०८१ चैत  ४  मा सुवेदी संयोजक रहेको समितिमा राप्रपाका शीर्ष नेताहरूलाई समावेश गर्ने योजना पनि शाहकै थियो । पूर्वराजाको पछिल्लो रणनीति स्पष्ट देखिन्छ -जनता थाकेका छन्, दलहरूमा विश्वास हराइरहेको छ,राज्यको अक्षमता चुलिएको छ ।

यही असन्तोषलाई उचालेर वैकल्पिक शक्ति तयार गर्ने खेलमा पूर्वराजा लागेका छन् । तर, मुख्य प्रश्न बाँकी छ - नेतृत्व कसले लिन्छ ? दुर्गाप्रसाईं जस्तो एकपटक ‘कमाण्ड’ पाएका व्यक्ति जब पक्राउ परे, शाहले दूरी बनाए । अब फेरि त्यही जोखिम अरूलाई दिने कि पर्दा पछाडिबाट मात्र ‘निर्देशन’ दिने ? शाह रणनीतिक द्विविधामा छन् । तर एउटा कुरा पक्का देखिन्छ- पूर्वराजा अब निष्क्रिय छैनन् ।

उनी प्रतीक्षामा छन्—‘सही समय’ र ‘सही अनुहार’को खोजीमा । जसले उनलाई फेरि गद्दीमा फर्काई देओस् ।  उनले मरिसकेको राजसंस्था फर्कने दिवास्वप्न पालेर जे खेल खेल्न खोजेका छन्, त्यो नेपाली राजनीतिमा अव सहज सम्भव भने देखिदैन ।

प्रतिक्रिया दिनुहोस