जेठ महिनाभरि आन्दोलनमा नेकपा एस (कार्यतालिकासहित )

सफल खबर संवाददाता

बुधबार, ०७ जेठ २०८२, १३ : ०१
जेठ महिनाभरि आन्दोलनमा नेकपा एस (कार्यतालिकासहित )

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आन्दोलनको दोस्रो चरणको कार्यक्रमसहित परिपत्र जारी गरेको छ। महासचिव घनश्याम भुसालले जेठ ३१ गतेसम्मको आन्दोलनको कार्यसूचीसहित पार्टी पङ्क्तिमा परिपत्र पठाएका हुन्।

गत चैत्र १ गतेदेखि सुरु गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत सबै प्रदेश कमिटीहरूको जुम बैठक, विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल तथा सुझाव सङ्कलन र केन्द्रदेखि स्थानीय तहसम्म ज्ञापन पत्र बुझाउने काम सम्पन्न भएको परिपत्रमा उल्लेख छ।

परिपत्रमा भनिएको छ, ‘गत चैत्र १५ गते समाजवादी मोर्चा, नेपालको आयोजना पनि यसै आन्दोलनको अङ्गका रूपमा प्रभावकारी तरिकाले सम्पन्न भएको छ । यसले पार्टीको सबै पङ्क्तिमा आन्दोलनबारे जानकारी गराएको छ, सरोकार उत्पन्न गरेको छ र केही हदमा पार्टी बाहिर पनि चासो उत्पन्न गरेको छ । खास गरी हाम्रो आन्दोलन १० वर्षमा मुलुकलाई बेरोजगारीबाट मुक्त गर्ने र सुशासन युक्त मुलुक बनाउने विषयमा केन्द्रित रहने कुराले धेरैको ध्यान आकर्षित गरेको छ ।’

कमिटीहरूमा आन्दोलनबारे आवश्यक छलफल नभएको, सुझाव सङ्कलनका कामहरू अझ व्यवस्थित हुन नसकेको, तयारी कमजोर हुँदा ज्ञापन पत्र बुझाउने काम समयमै र प्रभावकारी हुन नसकेकोजस्ता कमजोरी देखिएको उल्लेख छ।

परिपत्रमा भनिएको छ, ‘अझै पनि कमिटीका इन्चार्ज, सहइञ्चार्ज, कमिटीका अध्यक्ष र अन्य पदाधिकारी र सदस्यहरूका बिचमा सजीव सूचना प्रणाली व्यवस्थित हुन सकेको छैन । कमिटीमा निर्णय गर्ने, सबैले स्वामित्व लिने र प्रभावकारी कार्यान्वयन गर्ने कुरामा कमजोरीहरू रहेका छन् । तर पनि पार्टी पङ्क्तिलाई आन्दोलनको कार्यक्रमले क्रमशः आबद्ध गर्दै गएको छ र आन्दोलनलाई व्यवस्थित गर्ने क्रममा अन्य कमजोरीहरू पनि हटाउँदै जाने प्रक्रिया अगाडि बढ्ने छ ।’

जेठ महिनाको कार्यक्रमले पार्टी पङ्क्तिलाई सम्पूर्णरुपले आन्दोलनको वरिपरि गोलबन्द गर्ने नेकपा एसको विश्वास छ। जिल्ला, पालिका अधिवेशनहरू पनि आयोजना गर्दै असार र साउन महिना आन्दोलनद्वारा पार्टी निर्माण भन्ने मुख्य विषयमा पार्टीव्यापी रूपमा प्रशिक्षण आयोजना गर्ने र भदौदेखि आन्दोलनको तेस्रो चरण सुरु हुने उनले बताए।

495263985_1920895111988937_9013194817719959417_n494858064_2672875009585499_1201474313929544567_n495049756_1021912693459091_4622180481111607513_n