चितवन । चितवनको कालिका नगरपालिकाभित्र आएको भीषण हावाहुरीले विभिन्न स्थानमा जनधनको क्षति पुर्याएको छ । संकटको यस घडीमा गोर्खाली समूहले “संकटमा साथ – गोर्खाली परिवारको राहत कार्यक्रम” सञ्चालन गरेको छ ।
हावाहुरीले गोर्खाली समूहका सक्रिय सदस्य रामबहादुर भण्डारीको घरको छाना पूर्ण रूपमा उडेको थियो, जसका कारण उनको परिवार खुला आकाशमुनि बस्न बाध्य भएको थियो। भण्डारीको घर पुनर्निर्माणका लागि आवश्यक जस्तापाता र निर्माण सामग्रीहरू समुहले हस्तान्तरण गरेको छ ।
कार्यक्रममा समूहका सदस्य रमेशजंग थापाले “बैशाख ३१ गतेको हावाहुरीले धेरै परिवारलाई पीडित बनाएको र यस्तो बेलामा कुनैपनि नागरिकको कर्तव्य सहयोग गर्नुभएको बताए । उनले गोर्खाली समूहको उक्त कार्यमा सानो सहयोग गर्न पाएकोमा गर्व लागेको बताए ।”
यस्तै गोर्खाली समूहका अध्यक्ष रेशमराज वाग्लेले सहयोगकर्ताहरू तथा सदस्यहरूलाई धन्यवाद दिंदै “संकटका बेला एकआपसमा साथ दिन सक्नु नै गोर्खाली भावना भएको बताए । उनले भने , "हामीले शब्दलाई कर्ममा परिणत गरेका छौं। आजको कार्यक्रममार्फत एउटा परिवारलाई आश्रय दिन सक्नु हाम्रो समूहको प्रतिबद्धताको उदाहरण हो।”
कार्यक्रममा समूहका सम्पूर्ण कार्यसमिति सदस्य, लेखा सदस्य, अन्य सदस्यहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम “संकटमा साथ – गोर्खाली परिवारको राहत ” भन्ने नारासहित समापन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १२ : ३७
लेखकबाट थप