काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा सत्तारुढ समुह (संस्थापन पक्ष) देउवा समुहमा गहिरो अन्योल छ ।
चौधौं महाधिवेशनमा शेरबहादुर देउवाको उम्मेदवारी पहिल्यै सुनिश्चित थियो, अहिले भने उनले नेतृत्व गरिरहेको समुहमा सभापतिका लागि साझा उम्मेदवार को भन्नेमा टुंगो लागेको छैन ।
दोस्रो पंक्तिका नेताहरुबीच चक्रिय भेटघाट, छलफल र शक्ति सन्तुलनको खेल त बाक्लिँदै गएको छ, तर नेतृत्व तय गर्नुपर्ने मूल एजेन्डा भने अन्योलमै छ ।
देउवा समुहमा नेतृत्वको उम्मेदवार चयनमा चाँडै सहमति जुटेन भने, देउवा समुह (संस्थापन) को पार्टी सत्ताको सत्तारोहणभन्दा सत्तामुक्तिको ढोका पहिले खुल्ने खतरा देखिँदैछ ।
संस्थापन समुहभित्र सभापतिको आकांक्षी नेताहरु डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ र कृष्णप्रसाद सिटौला सबै आफैं सभापति बन्ने मनस्थितिमा छन् । शशांक वीपी कोइरालाका, विमलेन्द्र महेन्द्रनारायण निधिका, र प्रकाशमान गणेशमान सिंहका सन्तान हुन् । उनीहरुको भेटघाट कहिले महाराजगञ्ज त कहिले ठमेल चाक्सीबारी, बानेश्वर र अन्य ठाउँमा भइरहे पनि त्यो संवाद नेतृत्व निर्माणभन्दा बढी व्यक्तिगत दाबेदारीको घुम्तीमा अड्किएको छ ।
धेरै बैठक, थोरै निष्कर्ष
यी नेताहरुले भेटघाटलाई चक्रिय प्रणालीका आधारमा कहिले कसको घरमा त कहिले कसको घरमा गदैं आईरहेका छन् । नेताहरुको मन छाम्ने र आफुलाई उम्मेदवारमा अब्बल देखाउने मुल रणनीति नै यी भेटघाटको देखिन्छ । सकभर साझा उम्मेदवार बनाउने र त्यसमा आफु नै उम्मेदवार बन्ने प्रतिस्पर्धा यी सम्वादहरुमा घोषित-अघोषित रुपमा छ ।
सुरुमा यो समुहको भेटघाट कांग्रेसका विरासत बोकेका तिन नेताबाट सुरु भएको थियो । त्यसपछि भेटघाट बाक्लो छ तर भेटघाटबाट आउने परिणाम र निश्कर्ष भने देखिएको छैन ।
भेटघाट श्रृंखला (तालिका)
असोज ७ – शशांक कोइरालाको निवास महाराजगञ्जमा विमलेन्द्र र प्रकाशमानबीच पहिलो संवाद
पुस १७ – प्रकाशमानको निम्तोमा ठमेल चाक्सीबारीमा दोस्रो छलफल
फागुन २ – कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ नेताको देउवासँग बुढानिलकण्ठमा भेट
चैत १६ – विमलेन्द्र निधिको बानेश्वरस्थित निवासमा ‘लन्च मिटिङ’
वैशाख ११ – लोकतन्त्र दिवसमा शशांक निवास महाराजगञ्जमा भेट
जेठ ४ – गोपालमान श्रेष्ठको निम्तोमा सानेपामा पछिल्लो छलफल, सातै प्रदेशमा अभियान थाल्ने निर्णय
यद्यपि यी सबै भेटघाटबाट एउटै कुरामा सहमति हुन सकेको छैन—सभापतिका लागि साझा उम्मेदवार को ?
गगन–शेखरको अगाडि संस्थापन असमञ्जसमा
शेखर कोइरालाले पहिले नै उम्मेदवारी घोषणा गरेकै छन् । पछिल्लो समय गगन थापाले पनि शेखर समुहबाट टाढिएर आफैं चुनावी तयारी गरिरहेका छन् । यस्तो अवस्थामा संस्थापन समुह अझै उम्मेदवार टुंगो लगाउन नसक्नु देउवा समुहका लागि गम्भीर रणनीतिक असफलता बन्न सक्छ ।
यता देउवा समुहभित्रकै केही नेताहरु शेखरतिर आकर्षित हुँदै गएको कांग्रेसभित्रै चर्चा छ । यस्तो अवस्थामा संस्थापनमा झनै अविश्वास र फुटको खतरा बढेको छ ।
नेतृत्वविहीन यात्रा
गोपालमान श्रेष्ठको निवासमा भएको जेठ ४ (हिजो) को छलफलपछि सातै प्रदेशमा राजनीतिक अभियान थाल्ने निर्णय भएको छ । सुरु बागमतीबाट हुने भनिए पनि यो अभियान नेतृत्व बिना नै अघि बढ्ने हो कि भन्ने आशंका देउवा समुहभित्र उठ्न थालेको छ।
कांग्रेसको इतिहास ‘सहमतिको संस्कृति’मा आधारित रहेको दावी गरिए पनि हालको अवस्था ठीक त्यसको विपरीत छ । देउवा समुह एकढिक्का भएर साझा उम्मेदवार तय गर्न चुकेमा १५ औं महाधिवेशनपछि कांग्रेस भित्रको शक्ति समीकरण फेरि एकपटक गहिरो ध्रुवीकरणमा पुग्नेछ । यदि देउवा समुहमा नेतृत्वको उम्मेदवार चयनमा चाँडै सहमति जुटेन भने, देउवा समुह (संस्थापन) को पार्टी सत्ताको सत्तारोहणभन्दा सत्तामुक्तिको ढोका पहिले खुल्ने खतरा देखिँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु