काठमाडौँ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् । उनी नेपाली काँग्रेसको समानुपातिक सांसद छिन् ।
समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।
समितिका यसअघिका सभापति पदमा काँग्रेसका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो । बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए ।
समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनीयताको शपथ लिने छिन्। नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी न्यौपाने हाल काँग्रेसको केन्द्रीय सदस्य छिन् । यसअघि उनी तत्कालीन संविधानसभामा सदस्य थिइन् भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसकेकी छन् । काँग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उनीसँग छ ।
काँग्रेसको मंगलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ भदौ २०८२, १६ : ०१
लेखकबाट थप