स्थगित आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै, बैङ्गलोर र कोलकाता भिड्ने

एजेन्सी

शनिबार, ०३ जेठ २०८२, ०८ : १४
स्थगित आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै, बैङ्गलोर र कोलकाता भिड्ने

एजेन्सी । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुनः सुरु हुँदैछ ।

आतङ्ककारी समूहले कश्मिरको पहलगाममा गरेको हमला स्वरुप भारतले ‘अप्रेसन सिन्दुर’ सुरु गरेपछि जारी आईपीएल मे ८ देखि रोकिएको थियो ।

भारत र पाकिस्तानबीच तनाव व्यवस्थापन भइ युद्ध बिराम भएपछि पुनः आईपीएल सुरु हुन लागेको हो ।

आज रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैङ्गलोरमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो ।

जारी लिगमा बैङ्गलोर ११ खेलबाट १६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको कोलकाता ११ अङ्कका साथ छैटौँ स्थानमा छ ।

आईपीएलका बाँकी खेलहरू बैङ्गलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।

आईपीएलको प्ले अफको स्थान भने निर्णय हुने बाँकी छ । तथापि मिति भने पक्का भइसकेको छ ।

पहिलो क्वालिफायर २९ मे तथा इलिमिनेटरको खेल ३० मे मा हुनेछ । १ जुनमा दोस्रो क्वालिफायर हुनेछ । आईपीएलको फाइनल खेल ३ जुनमा हुने तालिका छ ।

यसअघि ८ मे का लागि धर्मशालामा हुने भनिएको पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीचको खेल २४ मे मा हुनेछ ।