बैँकिङ प्रणालीबाट आज ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, ११ : ३९
बैँकिङ प्रणालीबाट आज ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैँकले ३० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता समस्या समाधान गर्न निक्षेप संकलन बोलकबोलमार्फत २१ दिन अवधिको सो बराबरको तरलता खिच्न लागिएको हो ।

यसका लागि आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने बैंकले जनाएको छ । उक्त निक्षेप  संकलनको आजै निष्कासन हुने समेत बैँकले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनको साँवा ब्याज आगामी जेठ १८ गते परिपक्व हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बैँक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने बैँकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैँकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्ने छ ।