बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी

बुधबार, २४ बैशाख २०८२, ०७ : ४३
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । बार्सिलोनामाथि नाटकीय जित हात पार्दै इटालियन क्लब इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।  

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४–३ ले पराजित गर्दै इन्टर मिलान उपाधि नजिक पुगेको हो। 

सन् १९६४ र १९६५ मा युरोपिय कप जितेको इन्टरले सन् २०१० मा च्यामिपयन्स लिग जितेको थियो। त्यसयता इटालियन टोलीले कुनै प्रतियोगिता जित्न सकेको छैन।

इन्टर मिलानले समग्रमा ७–६ को नतिजा हात पार्यो। सेमिफाइनलको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो। 

निर्धारित ९० मिनेटमा ३–३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ९९ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेभिड फ्रातेसीको गोलमा इन्टर फाइनलमा पुगेको हो। 

पहिलो हाफको २१ औँ मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो। डेन्जल डम्फ्रिजको पासमा मार्टिनेजले बललाई सहज रुपमा पोष्टको जाली चुमाएका थिए। 

खेलको ४५ औँ मिनेटमा हाकान चाल्हानोग्लुको गोलले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। 

खेलको पहिलो हाफमा बार्सिलोना २–० ले पछि पर्यो। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको बार्सा अतिरिक्त समयमा सम्हालिन नसक्दा उपाधि नजिक पुग्ने सुन्दर मौका गुमाउन पुरग्यो।

प्रतिक्रिया दिनुहोस