धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

सफल खबर संवाददाता

मंगलबार, २३ बैशाख २०८२, ११ : ५०
धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

धनकुटा । धनकुटा नगरपालिका(६ गोठगाउँमा भएको बस दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यसअघि दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान–१३ का ५१ वर्षीय रुद्र तामाङ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारकै क्रममा मृत्यु भएको थियो ।दुर्घटनामा घाइते भएका अन्य ११ जनाको उपचार भइरहेको छ । जसमध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सोमबार बिहान साढे १० बजेतिर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस