दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हानले दिए राजीनामा

सफल खबर संवाददाता

विहीबार, १८ बैशाख २०८२, १४ : ५६
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हानले दिए राजीनामा

सोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सूले राजीनामा दिएका छन् । उनले बिहीबार राजीनामा दिएको घोषणा गरेका हुन् । अर्को महिना हुने राष्ट्रपति चुनावमा हानले भाग लिने खबरहरू आइरहेका बेला उनले यो कदम चालेका हुन् ।

देशका लागि ठुलो जिम्मेवारी लिन पद त्याग्ने निर्णय गरेको हानले टेलिभिजनमा प्रसारित ब्रिफिङमा भने ।  दक्षिण कोरियाली मिडियाका अनुसार हानले शुक्रबार राष्ट्रपति चुनावका लागि आफ्नो अभियानको औपचारिक सुरुवात गर्नेछन् ।

हानलाई तत्कालीन राष्ट्रपति युन सुक–योलले प्रधानमन्त्री नियुक्त गरेका थिए । यो दक्षिण कोरियाको दोस्रो सबैभन्दा महत्त्वपूर्ण पद हो । तर, मार्सल ल लगाउने षड्यन्त्र गरेको आरोपमा येओललाई पदबाट हटाइयो । त्यसैले राष्ट्रपतिका चुनाव हुन लागेको हो ।

हानले पिपुल्स पावर पार्टीसँग गठबन्धन बनाउन सक्ने

हान एक सम्भावित रूढीवादी नेताको रूपमा उदाइरहेका छन् । गत वर्ष डिसेम्बर ३ मा युनले मार्सल ल लागू गरेदेखि नै प्रमुख रूढीवादी पिपुल्स पावर पार्टी अस्तव्यस्त छ । उदारवादी अग्रदूत ली जे–म्युङ विरुद्ध अभियान सुरु गर्न हानले पिपुल्स पावर पार्टीसँग गठबन्धन गर्न सक्ने पर्यवेक्षकहरू भन्छन् ।

को हुन् हान ?

७५ वर्षीय हान पूर्वसरकारी कर्मचारी हुन् । सार्वजनिक सेवामा उनीसँग लगभग ४० वर्षको अनुभव छ । उनले हार्वर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए । कन्जरभेटिभ र लिबरल दुवै सरकारमा उनले उच्च पदहरू सम्हालेका छन् ।

हानले वाणिज्य मन्त्री, अर्थमन्त्री र अमेरिकाका लागि राजदूतको रूपमा पनि काम गरिसकेका छन् । २००७–२००८ सम्म उदारवादी राष्ट्रपति रोह मु–ह्युनको नेतृत्वमा र पछि  युनको कार्यकालमा उनी दुई पटक प्रधानमन्त्री भएका थिए ।

आर्थिक मामिलामा उनको पकड र सरकारी अनुभवले उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक ट्यारिफ नीति र अन्य आर्थिक समस्याहरूको सामना गर्न सक्ने बलियो नेता बनाएको हानका समर्थकहरू भन्छन् । तर आलोचकहरूले भने उनले कहिल्यै निर्वाचित पद धारण नगरेको औँल्याउँछन् ।

उनीसँग कुनै बलियो राजनीतिक समर्थन आधार नभएको, राष्ट्रपति बन्न उनी धेरै वृद्ध भएको अनि विवादास्पद मुद्दाहरूलाई सम्बोधन गर्न उनमा कडा नेतृत्वको अभाव भएको उनीहरूको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस