काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पहिलोचोटि आफूबाट फुटेर बनेको राप्रपा नेपाललाई राजनीतिक मान्यता दिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा गरिएको निम्तो स्वीकार गरे ।
चैत १५ गतेको आन्दोलनपछि पक्राउ गरिएका नेता कार्यकर्ताको रिहाइलाई मुख्य मुद्दा बनाएर आज राप्रपा नेपालले रत्नपार्कमा विरोध सभा आयोजना गरेको हो । यसमा राप्रपाले सबै राजावादी दल र संघ-संगठनलाई निम्त्याएको थियो । राप्रपा अध्यक्ष लिङ्देन लगायत प्रमुख नेताहरूलाई राप्रपा नेपालका अध्यक्ष कमल थापा आफैँले फोन गरेर निम्त्याएका थिए । उनको निम्तो स्वीकार्दै पहिलोपटक लिङ्देन राप्रपा नेपालको कार्यक्रममा पुगे ।
उनी कार्यक्रममा केही ढिलागरी उपस्थित भएका थिए । आउनसाथ उनी मञ्चमा उक्लिएर भाषण गरे । आजै पोखरा विमानस्थलबारे संसदीय समितिको प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम भएकाले समयमा आइपुग्न नसकेको प्रष्टीकरण लिङ्देनले दिए ।
‘यस्तो महत्वपूर्ण कार्यक्रममा झण्डै वञ्चित भएँ, तर म भगवानमा आस्था राख्ने मान्छे, ठिक टाइममा आइपुगेको छु, अत्यन्त हर्षित छु,’ उनले भाषणको सुरुवातमै भने । लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र पुन:स्थापना तथा संघीयता खारेजीका लागि गरिने सबै प्रकारका कार्यक्रमहरूमा पार्टीको ऐक्यवद्धता रहने बताए । आफ्ना मान्यताहरू स्थापनाका लागि हुने सबै प्रकारको शान्तिपूर्ण कार्यक्रममा साथमा हुने वचन दिए ।
‘आज यो कार्यक्रम राप्रपा नेपालले आयोजना गरेको छ र यसका अध्यक्ष श्रद्धेय दाइ कमल थापाले मलाई आमन्त्रण गर्नुभयो, उहाँलाई धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु र आफ्नो ऐक्यवद्धता व्यक्त गर्न चाहन्छु,’ लिङ्देनले भने ।
सबै राजावादी शक्तिहरु एकजुट हुनुपर्ने दवाव बढिरहेका बेला लिङ्देनले आफू यसका लागि तयार रहेको जनाउ दिए । उनले भने, ‘मलाई धेरै भन्नु छैन । यति भन्नु छ, हामी सँगै छौं र सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ । यसमा कुनै द्वीविधा नरहोस् ।’
लिङ्देनले थपे, ‘अहिले सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ । म सबै देशभक्त शक्तिहरुलाई आग्रह गर्न चाहन्छु । सबै आग्रह–पूर्वाग्रह त्यागेर एक ठाउँमा बसेर निकास दिन अगाडि बढौं । यो कार्यका लागि राप्रपा सँधै तयार छ । हामी सबै एक ठाउँ बसेर यो लोकतन्त्र नामको लुटतन्त्र विरुद्ध जुटौं ।’
थुनामा रहेका पार्टीका नेताहरूको रिहाइ र चैत १५ को घटनाको न्यायिक छानबिनका लागि सशक्त दबाब सिर्जना गर्न उनले आह्वान गरे । जबरजस्ति सो घटनालाई राजावादीको हिंसात्मक प्रदर्शन भनेर भाष्य निर्माण गर्न खोजिएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनबाट बाहिरिए राप्रपाका सांसद
माओवादीले छेपारो झैँ रङ फेर्यो, सदन चल्न दिँदैनौँ : राप्रपा
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा सुरु
राप्रपाले बोलायो संसदीय दलको बैठक
आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्षमूनिका युवासँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै राप्रपालाई ज्ञापनपत्र