उस्तै छ राजधानीका सडकमा खाल्डाखुल्डी, हिलो र धुलो

सफल खबर संवाददाता

सोमबार, २६ कार्तिक २०७५, १३ : ५९
उस्तै छ राजधानीका सडकमा खाल्डाखुल्डी, हिलो र धुलो

काठमाडौं । दशैँ गयो, तिहार पनि गयो, तर राजधानीका सडकमा खाल्डाखुल्डी, हिलो र धुलो उस्तै छन् । तिहारअघिसम्म वर्षालाई दोष देखाउँदै आएका सरकारी निकाय सडकका खाल्डाखुल्डी पुर्ने र सडक कालोपत्रे गर्नेतर्फ कुनै पनि प्रयास नगरी पूर्ववत् अवस्थामा चुपचाप बसिरहेका छन् ।

काठमाडौँ महानगरपालिकाले पनि दशै अगाडिसम्म बर्षालाई नै दोष देखाएर चुपचाप सडकको खाल्डाखुल्डी नपुरिकन राखेको थियो । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको कार्यशैलीलाई त आम मानिसले मन पराएका छैनन् । उनले करिब २ वर्षको बीचमा के गरे भनेर देखाउने कुनै पनि एउटा काम गरेका छैनन् । राजधानीका केही मुख्य सडकबाहेक अधिकांश सडकको अवस्था दयनीय छ ।

सडक मर्मत सम्भारको जिम्मा लिएको सडक विभाग के गर्दैछ कोही कसैलाई थाहा छैन । विभागका एक अधिकारी बजेट अभावमा सडक मर्मतको काम गर्न नसकिएको बताउँछन् । सडक मर्मतका लागि मात्रै उनका अनुसार करिब २१ अर्ब बराबरको बजेट आवश्यक पर्दछ । सरकारले चालु आवको बजेटमा सडक मर्मतका लागि भने सडक विभागलाई २ अर्बमात्रै बजेट उपलब्ध गराएको छ ।

एक अध्ययन अनुसार नेपालमा धुवा तथा धुलोका कारण वार्षिक २१ हजार नागरिकले अकालमा ज्यान गुमाएका छन् । ३ खर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी समेत हुने गरेको छ । राजधानीको अधिकांश सडक भत्किएर खाल्डाखुल्डी बनेका छन् । यात्रा कष्टकर मात्रै छैन, जोखिम पनि उत्तिकै छ । सडक दुर्घटनाको मात्रा बढेको छ । समस्याको सम्बोधन गर्नुपर्ने निकाय चुपचाप बस्दा नागरिकले दैनिक हैरानी खेप्नु परेको छ ।

प्रधानमन्त्री केपी ओलीले ६ महिना भित्र काठमाडौँका सडकमा खाल्डाखुल्डी नरहने बताएका थिए । उनको घोषणा कहाँ पुग्यो भन्ने बारेमा सोधखोज गर्ने नागरिक समाज समेत निदाएको छ । प्रधानमन्त्रीले पटकपटक निर्देशन दिँदा समेत अटेर गरेर बस्ने सरकारी निकायका जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नेतर्फ पनि सरकार क्रियाशील हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय समेत के गरिरहेको छ ? आममानिसले थाहा पाउन सकेका छैनन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री रघुवीर महासेठले सडक मर्मतमा कुनै चासो देखाएका छैनन् । कमसेकम राजधानीका सडकमात्रै खाल्डाखुल्डीरहित र धूलोरहित हुन सक्यो भने पनि देशमा सरकार छ भन्ने कुराको अनुभूति हुन सक्थ्यो, त्यत्तिसम्म काम पनि सरकारी निकायले गरेको छैन । सरकारका अधिकांश निकाय निर्देशन दिने काममा मात्रै व्यस्त रहेका छन् ।

सडक मर्मत गर्नु भनेर वर्तमान प्रधानमन्त्रीले ३ पटक भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका पदाधिकारी र सडक विभागका अधिकारीलाई निर्देशन दिए । उनको निर्देशन कार्यान्वयन गर्ने निकायमा नपुग्दै पुनः हराएको छ । नागरिकले दैनिक उस्तै हैरानी व्यहोरिरहेका छन् । दुर्घटनामा परेर ज्यान गुमाएका छन् । तर सरकारले किन सडक मर्मत गराउन ध्यान दिएको छैन, यो प्रश्न भने गम्भीर रहेको छ ।

ठेकेदारकै कारण कलंकी नागढुंगा, बौद्ध जोरपाटी सडकको हालत पनि उस्तै रहेको छ । ती सडक कहिलेसम्म कालोपत्रे हुने हो भन्ने कुनै ठेगान छैन । बौद्ध जोरपाटी सडकखण्डका एक इन्जिनियर विश्वविजयलाल श्रेष्ठका अनुसार यही अवस्था रहिरहे यो सडक मर्मत सम्भार सकिन अझै २ वर्ष लाग्न सक्छ ।

 

प्रतिक्रिया दिनुहोस