काठमाडौँ । उच्च पदस्थ कर्मचारीहरू अवकाश लगत्तै संवैधानिक नियुक्ति वा परामर्शदाताको रुपमा काम गर्न पाउनुपर्ने पक्षमा उभिएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको उपसमितिले अवकाशलगत्तै परामर्श दाताको रुपमा काम गर्न र संवैधानिक नियुक्ति लिन नपाउने प्रावधान राख्ने तयारी गरेको छ ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाका अनुसार कुलिङ पिरियड राख्ने भन्नेमा सांसदहरू सहमत छन् । ‘एक वर्ष कुलिङ पिरियड राख्ने कि दुई वर्ष भन्नेमा कुरा भइराखेको छ । तर, कुलिङ पिरियड राख्नेमा माननीयहरू सहमत हुनुहुन्छ’ खतिवडाले भने ।
तर, यस्तो तयारीप्रति उच्च पदस्थ कर्मचारीहरू असन्तुष्ट छन् । मुख्य सचिवले समेत यस्तो आग्रह गरेको नेताहरू बताउँछन् ।कुलिङ पिरियड राख्ने वा नराख्ने सहितका विषयमा सांसदहरू छलफलमा छन ।
निजामती कर्मचारीमा ट्रेड युनियनको विषय, अतिरिक्त सचिवको पद ब्युताउने विषय, अवकाशको उमेर ६० कसरी लागू गर्ने भन्ने विषयमा सांसदहरू छलफलमा छन् ।अधिकांश विषयमा भने सहमती जुटेको नेताहरू बताउँछन् । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुनेमा सहमति जुटेको छ ।
प्रदेश मन्त्रालयको सचिव पनि प्रदेश निजामती सेवाको हुने भएको छ । तर, प्रदेशले नै सचिव तयार नगर्दासम्म संघीय सेवाबाट पठाउन सकिने प्रावधान राखिने भएको छ ।प्रदेशको प्रमुख सचिव संघीय निजामती सेवाको हुनेमा सहमति जुटेको छ ।
मुख्य सचिव र सचिवको पदाधिवधि घटाउने विषयमा समेत सहमति जुटेको छ । तर, कति वर्ष घटाउने भन्नेमा पुनः छलफल गर्ने भनिएको छ । हाल मुख्य सचिवको कार्यकाल ३ वर्ष र सचिवको कार्यकाल ५ वर्ष छ ।
अतिरिक्त सचिव पद ब्युँताउने विषयमा पनि उपसमिति सहमति नजिक पुगेको छ ।नेताहरूका अनुसार ‘राणाकालीन पद ब्युँताउने जस्ता शब्द प्रयोग भएर बाहिर प्रचार भएकाले अतिरिक्त सचिव नभनेर १३ औं तहको सचिव भन्ने वा अरु कुनै पदनाम दिने भन्ने विषय भने टुंगिन बाँकी छ । यसको पनि कार्यकाल ४ वर्ष राख्ने कि भन्ने भएको छ ।
निजामती सेवा प्रवेशका लागि पुरुषको हकमा अधिकतम उमेर ३५ वर्ष र महिलाको हकमा ३९ वर्ष राख्ने सहमती जुटेको छ । हाल महिलाको हकमा अधिकतम उमेर ४० वर्ष छ । ४० वर्ष राख्दा लोकसेवा आयोगको जाँच पास गरेर स्टाफ कलेजको तालिम लिएर नियुक्ति लिँदा केही समय व्यतित हुने र अवकाशमा जाँदा पेन्सन लिनका लागि केही वर्ष नपुग्ने समस्या भएकाले एक वर्ष कम गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियड संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग
कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिको बैठक पुनः सुरु
कुलिङ पिरियडबारे गठित छानबिन विशेष समितिले ओली, ‘प्रचण्ड’ र देउवासँग छलफल गर्दै
कुलिङ पिरियड संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति