काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
आज २६ डिसेम्बर अर्थात् माओको जन्मदिनको अवसरमा प्रचण्डले जारी गरेको सन्देशमा लेखिएको छ, ‘माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।
चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा माओको जन्म भएको थियो । उनी चिनियाँ कम्युनिष्ट पार्टी र नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक नेता हुन् । उनलाई संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनको प्रेरणाको स्रोतको रुपमा समेत लिने गरिन्छ ।
माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचारलाई नेपालका कम्युनिष्ट पार्टीहरुले मार्गदर्शकको रुपमा लिने गर्दछन् ।यस सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूत रुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत रहेको जनाएका छन् ।
विगतमा सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो भन्दै प्रचण्डले आज पनि त्यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ पुस २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखमा हाम्रो दाबी रहन्छ : प्रचण्ड
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन