काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाएका छन्। नेताहरूको कार्य विभाजन गर्नको लागि बसेको स्थायी कमिटीको बैठकमा खनाल सहभागी थिएनन्।
बैठकको निर्णयअनुसार नेताहरूको कार्य विभाजन टुंग्याएपछि सचिवालयको ह्वाट्सयाप ग्रुपमा नेता खनालले लेखेका छन्, ‘म विगत १५ दिनदेखि डाक्टरको सल्लाह बमोजिम आराम गर्दै बसेको छु । यो मेरो विगतको उपचार शृङ्खलाकै एउटा अंग हो । त्यसले गर्दा म यस पटक पार्टीको स्थायी कमिटीको बैठकमा उपस्थित हुन पाइनँ।’
६ महिनापछि बैठक गर्दा पनि पार्टीले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको बेलामा पारेको भन्दै के के एजेन्डा प्रस्तुत भए ? के के विषयमा छलफल भयो ? कस्तो छलफल भयो र के निष्कर्ष निकालियो मलाई थाहा नभएको उल्लेख गरेका छन्।
‘धेरै कमरेडहरूले देशभरिबाट मलाई सोधिरहनु भएको छ । कतिपय निर्णयहरूका बारेमा चर्को असन्तुष्टि रहेको कुरा पनि केन्द्रीय कमिटीका सदस्यहरूले व्यक्त गरिरहनुभएको छ । यस बीचमा कार्य विभाजन भएछ । त्यस बारेमा पनि धेरै असन्तुष्टि आइरहेको छ’ खनालले भनेका छन्।
उनले आफूले पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन पछि गर्नुपर्ने कामहरूका बारेमा केही प्रस्तावहरू पनि पठाएको बताएका छन्।उनले थपेका छन्, ‘त्यसमध्ये दसौँ राष्ट्रिय महाअधिवेशन र हाम्रो कार्य योजना शीर्षकमा पार्टीले तत्काल पहल गरेर गर्नुपर्ने कामहरूको योजना पनि पठाएको थिए । स्थायी कमिटीले के निर्णय गर्यो मलाई थाहा छैन । पार्टीले महाअधिवेशनबाट क्रान्तिको लक्ष्यका रूपमा समाजवादी कार्यक्रम त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्तहरू पास गरेको छ । अब ती कुरालाई व्यवहारमा उतार्ने ठोस कार्ययोजना लिएर पार्टी निर्माण, जनआधार निर्माण र जनसंघर्ष निर्माणको दिशामा सिङ्गो पार्टीलाई हाँक्नुपर्ने आवश्यकता छ ।’
पार्टी केन्द्रीय कमिटीका सदस्यहरूलाई उनीहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिँदै सिंगो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्।
‘स्थायी कमिटीले गर्नुपर्ने त्यही नै हो । तर के भएको वा गरिएको छ । मैले बुझ्न पाएको छैन । बुझेर मात्र धेरै कुरा भन्न उपयुक्त हुनेछ । कार्य विभाजन हेरे मलाई कयौँ कुरा चित्त बुझेन’ नेता खनालले भनेका छन्, ‘अब अपानी हेर्छु । अनि आफ्नो कुरा भनौला । पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक हुन बाँकी नै छ नि ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा
‘सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ’ : झलनाथ खनाल