मिडियाप्रति गुनासो

ज्योती तिलाञ्जलि

शुक्रबार, ०९ कार्तिक २०७५, १२ : २०
मिडियाप्रति गुनासो

यति बेला हामी सुचना प्रवाहको पक्षमा सबल हुँदै गएका छौँ । समाज परिवर्तनका लागि सञ्चार माध्यमले खेल्ने भूमिका एक प्रभावशाली भूमिका भएको छ । यसलाई सफल बनाउनु हामी नागरिकको पनि दायित्व हो । त्यसैले हामी सबै सञ्चार माध्यमलाई सशक्त बनाउन जुट्नुपर्छ होइन भने मुकदर्शक भएर बस्नुको विकल्प छैन । हाम्रो अधिकार छ सचेतताको नारा लगाउने । तर हामी कति जना गाली मात्र गर्न जानेका छौँ, जो कर्तव्य के हो भन्नेमा आफै अलमलमा छौँ । यसो गर्दा आफ्नो आँङ कन्याएर आफैलाई फुर्साे बनाउनुभन्दा ठुलो उपलब्धि के हुन्छ ? 

आजकल किन किन मलाई राज्यको चौथो अंगप्रति गुनासो हुन थालेको छ । अहिलेको समयमा आएर विवादित हुन कतिसम्म सही हो मलाई त्यो त थाहा छैन तर मैले बुझेअनुसार मिडियाजस्तो सक्रिय संस्था सायदै होला जो समाज परिवर्तनको संवाहक बनेर रहन सक्छ । यसका लागि आफ्नो तरिकाले भूमिका खेल्नुपर्छ नै । नेपालमा परिवर्तनका नाममा भएको ठुला भनिएका आन्दोलनहरुमा मिडियाको भूमिकालाई भुल्ने हो भने मिडियाप्रतिको ठुलो अन्याय हो । यो अन्यायबाट कोही चुक्छ भने त्यो महाभुल हो । म पचासकोे दशकको सुरुवाती समयमा जन्मेको मान्छे २०४६ सालको आन्दोलन र २०५२ सालको जनयुद्धको  समयमा मिडियाले कस्तो भूमिका खेल्यो भन्ने जानकार छैन तर २०६२/६३ को आन्दोलनको बारेमा थाहा छ । जसमा मिडियाको भूमिकालाई गौरवको रुपमा आत्मसात् गर्न सक्नुपर्छ । रेडियो नेपाल सरकारी स्वामित्वमा रहेको मिडिया हो र पनि २०६२/६३ को आन्दोलनमा खेलेको भूमिकालाई इतिहासले बिर्सन सक्दैन र सक्नुहुन्न पनि । त्यसपछि मिडियाको विकास खुबै तीव्र रुपमा भयो । यो लोकतान्त्रिक व्यवस्थाको एउटा महत्त्वपूर्ण उपलब्धि हो जुन आवश्यक पनि थियो । यति हुँदाहुँदै आजकल प्रायः सञ्चारमाध्यमहरुले अनलाइन खबर पनि प्रसारण गरिरहेका छन् । जसका कारण पत्रिका किनेर पढ्ने, टेलिभिजन हेरेर बस्ने आदि प्रचलनमा पनि कमी आएको र यही अनलाइन खबरहरु पढेर सुचना प्रवाह प्रचलन छ । यो व्यस्त समाजका लागि स्वाभाविक मात्र होइन पत्रिकामा पुग्न समय लाग्ने स्थानका लागि पनि सहज भएको कुरामा दुई मत छैन नै । यसका बाबजुत केही मिडियाहरुले नेपाल पत्रकार महासंघको प्रतिष्ठामा नै आँच आउने काम गरेका छन् ।

सुचनाको हक भनेको स्वतन्त्रताको हक हो । यसबाट निष्पक्ष समाचार प्रवाह हुनुपर्छ, भएको पनि छ धेरैबाट । हलुवामा बालुवाको शैलीमा आज केही अनलाइन पत्रिका र केही पत्रकारहरु सुचनालाई केही मात्रामा अर्थको अनर्थ बनाएर अगाडि बढिरहेको अवस्था हो । यो कतिसम्म उपयुक्त हो ? यसको विषयमा नेपाल पत्रकार महासंघले के सोचेको छ भन्ने प्रश्न हो मेरो । केही समय अगाडि एक पत्रिकामा व्यापारकै लागि एक नारीको नग्न तस्वीर छापियो के यसलाई  प्रेसको आचार संहिताले स्विकार गर्दछ ? हामी जनतामा यो प्रश्न उठाउन सक्छौँ कि सक्दैनौँ ? साथै यसरी नारीहरुमाथि उठेको अस्मिताको लडाइँमा आफूलाई नारी लेखक भन्नेहरुले यो विषयमा वकालत गर्न सक्ने कि नसक्ने ? साथै मिडिया एउटा समाचारको शीर्षक दिन्छ र तथ्यांक अरु नै पेश गर्छ विस्तारित समाचारमा । 
अब प्रश्न हो नेपाल पत्रकार महासंघ र नेपालको समाचारमाथि । यस्ता भ्रामक समाचार प्रसारण गर्ने मिडियालाई किन कारबाही हुन्न र किन खोसिन्न इजाजत ? स्वतन्त्रताका नाममा जे पनि भन्न पाइन्छ भने भोलि समुन्नत समाजको निर्माण कसरी हुन सक्छ । त्यसैले आजैबाट रोकियोस् अरुको जीवनमा आँच आउने प्रकारको समाचार र निष्पक्ष समाचार प्रसारणमा मिडियाको ध्यानाकर्षण होस् ।        
 

प्रतिक्रिया दिनुहोस