वीरगन्ज । मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचनका लागि मतदान जारी छ । दिउँसो २ बजेसम्म ५७ प्रतिशत मतदान भइसकेको छ ।आइतबार बिहान ७ देखि सुरु भएको मतदानमा २ बजेसम्म ५७ प्रतिशत मतदान भइसकेको मधेस प्रदेश प्रहरीको निर्वाचन सेलले जानकारी दिएको छ ।
उपनिर्वाचनमा ७ वटा वडाअध्यक्ष पदका लागि प्रदेशका ९६ जना उम्मेदवार मैदानमा छन् । प्रदेशको सप्तरी, धनुषा, महोत्तरी र रौटहटका ७ ठाउँमा उपनिर्वाचन हुँदैछ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर– १ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर वडा नम्बर– २ मतदान भइरहेको छ ।
यसैगरी रौतहटको इसनाथ नगरपालिका वडा नम्बर–७, राजपुर नगरपालिका वडा –६ र गढीमाई नगरपालिका वडा नम्बर–८ मा उपनिर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
यी ७ वटै स्थानमा वडाअध्यक्ष पदको लागि मात्र निर्वाचन भइरहेको मधेस प्रहरी निर्वाचन सेल एवं प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले बताए । मधेस प्रहरीका अनुसार ७ वटै स्थानमा गरी कुल १७ हजार ३ सय १३ मतदाता रहेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा नेपाल, जसपा, एकीकृत समाजवादीसहितका दलहरूले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म मतदान हुनेछ ।
शान्तिपूर्ण रुपमा मतदान हुँदै
प्रदेश प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराका अनुसार प्रदेशका ७ वटै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । उपनिर्वाचनमा हुने जिल्लाका सबै प्रहरी तथा प्रदेशबाट थप सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी बताउँछ ।
प्रहरी प्रवक्ता बोहरा भन्छन्, ‘हामी उपनिर्वाचनका लागि जुन जिल्लामा चुनाव भइरहेको छ त्यहाँको सबै प्रहरी, त्यसपछि थपमा प्रदेश प्रहरी पनि खटाएका छौँ । त्यसकारण अहिलेसम्म कतै केही भएको छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान