नयाँ नोट लिनेको लर्को, भनेजति नपाउँदा झर्को

विहीबार, २५ असोज २०७५, १७ : १७
नयाँ नोट लिनेको लर्को,  भनेजति नपाउँदा झर्को

चितवन । दसैँ मुखमा आइरहेको बेला नयाँ नोट साट्नेहरुको पनि लर्को लामै छ । चितवनलगायत र आसपासका जिल्लाबाट नयाँ नोट साट्न भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा नयाँ नोट साट्नेहरु घण्टौँ लाइनमा बसिरहेका छन् ।   राष्ट्रिय वाणिज्य बैंकले नयाँ नोट सटही गरिरहेको छ । घण्टौं लाइनमा बसेर नयाँ नोट लिनेहरु भनेजति रकम नपाउँदा चिन्तित भएका छन् ।  
राष्ट्रिय वाणिज्य बैंकले असोज २३ गतेबाट नयाँ नोट सटही गरेको हो । लामो लाइनमा घण्टाँै बस्दा पनि कति नयाँ नोट नपाइ रित्तो हात फर्कनुपरेको गुनासो बढी आएको छ । 
गैंडाकोटका उमाकान्त ढकाल डेढ घण्टा लाइनमा बस्दा पनि नयाँ नोट साट्न नपाएको गुनासो गरे । ‘पैसा सकियो भनेर गेट लगाइदिए, के गर्ने रित्तो फकर्नु बाध्य भइयो’ उनले भने, ‘पैसा नपाउने भएपछि किन लाइनमा राख्ने, पाइँदैन लाइनमा नबस्नूस् भन्न पर्दैन ?’ मान्छेलाई दिनभरि घाममा उभ्याउन मिल्छ ?
भरतपुर १२ का निलध्वज इटनी ४ घण्टा लाइनमा बस्दा पनि नयाँ नोट पाएनन् । उनी पनि पुरानो ठूला नोट लिएर घर फर्कनु पर्ने भयो । उनले भने, ‘एक त भने जति पैसा दिइएको छैन, अर्को कुरा त्यति पनि पाइएको छैन । मान्छेलाई यसरी दुःख दिन हुन्थेन नि ।’

मेघौली जितपुरका शिव भण्डारी पनि तीन घण्टा लाइनमा बसेर रित्तै घर फर्कनु परेको गुनासो गरे । उनले भने, ‘उहाँबाट आइएको छ, रित्तो फकर्नु परेको छ ।’ 
रजहरबाट आएकी ५० वर्षकी कमला कँडेलले पनि नयाँ नोट साट्न पाइनन् । ‘कत्रो ठूलो आशले आएको हुँ, निराशा बोकेर घर फर्कनु पर्ने भयो’ उनको दुखेसो थियो  । 
टाँडीबाट आएका गणेश तिवारी, माडीदेखि धाएका यमबहादुर मगरको पनि हालत उस्तै थियो, उनीहरुले पनि नयाँ नोट साट्न पाएनन् । उनीहरुको दसैँमा टीका लगाएर नयाँ नोट दिने सपना अधुरै रह्यो ।
भरतपुर १० का रविन पौडेलले रविन पौडेल नयाँ नोट साट्न पाउँदा फुरुङ भएका छन् । उनी भन्छन्, ‘म त बिहानै ७ बजे आएर लाइनमा बसेको थिएँ, मैले त नयाँ नोट पाएँ । ढिलो लाइनमा आएर बस्नेले पाउन सकेनन् । लाइनमा नबसी केही नपाउने नेपालीको बानी नै भइसकेको उनी बताउँछन् । 
रविनकै साथी विराट कट्टेलले पनि वाणिज्य बैंक भरतपुर चौबीसकोठीबाट नयाँ नोट पाए । उनले भने, ‘१८ हजारको नयाँ नोट साटेको छु, भने जनि त कहाँ पाउनु ? जे भए पनि पाइयो । खुसी नै छु ।’
वाणिज्य बैंक भरतपुर चौबीसकोठीका शाखा प्रबन्धक इन्द्रविलास न्यौपानेले हिजो  र आज गरी २ करोड ५० लाख रकम बराबरको नयाँ नोट  वितरण गरेको बताए । उनले केही बैंकहरुलाई समेत यहाँबाट नयाँ नोट वितरण गरिएको जानकारी दिए । उनका अनुसार नयाँ नोट मगाएका छौँ आयो भने साटिन्छ, नत्र आजै अन्तिम हो । 


शाखा प्रबन्धक इन्द्रविलास न्यौपानेले साटिएको नोटको व्यवस्थापनको लागि नयाँ नोटको वितरण कार्य चाँडै बन्द हुने बताए । उनले भने, ‘साटिएको पैसा सरकारको ढुकुटीमा पठाउनुपर्छ, त्यसको व्यवस्थापन गर्न साढे २ बजेदेखि नयाँ नोट साट्ने कार्य बन्द गरिएको हो ।’ उनको प्रश्न थियो, ‘४ बजेसम्म नयाँ नोट वितरण गरेर कतिबेला सरकारको ढुकुटीमा हाल्ने ?
बैंकले भित्रभित्रै अन्य निजी बैंक, सरकारी कार्यालय, कर्मचारीलाई नयाँ नोट दिँदा सर्वसाधारणले सहजै पाउन नसकिएको गुनासो सर्वसाधारणले गरेका छन् । शाखा प्रबन्धक न्यौपानेले त्यो कुरालाई गलत भन्दै सर्वसाधारणलाई प्राथमिकता दिएर नयाँ नोट वितरण गरेको बताउँछन् ।
नेपाल बैंकले प्रतिव्यक्ति २७ हजार नयाँ नोट दिने निर्णय गरे पनि वाणिज्य बैंकले ग्राहकलाई जम्मा १८ हजार ५ सय रूपैयाँ नयाँ नोट दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस