अंशबण्डा हुँदैछ देश, मान्छे हुनुको अनुभूति खै ?

ज्योती तिलाञ्जलि

विहीबार, २५ असोज २०७५, १७ : ०५
अंशबण्डा हुँदैछ देश, मान्छे हुनुको अनुभूति खै ?

यतिबेला देशको कित्ता काट्ने अभ्यास भइरहेको छ । भूमिको कित्ताभन्दा धेरै मान्छेको मनको कित्ता काटिएको छ र त मरेका छन् सपनाहरु । माग कतिसम्म ठिक हो आफ्नो क्षेत्रको अखण्डताको, मैले बुझेको छैन तर विकासको नाम जोडेर अंशबण्डा हुँदैछ देश । हिजो छोरालाई अंश दिनैका लागि मल्ल राजाहरुले देश भाग लगाएकाले पृथ्वीनारायण शाहले एकताको सूत्रमा देशको अखण्डता खोजे ।
हामी स्वाभिमानको गर्विलो आवाज बोकेर आजसम्म बाँचेका छौँ तर किन आज आफ्नै भूमि बिरानो हुने दिनको प्रतीक्षामा छौँ हामीहरु ? ठिकै छ, विभाजित बनोस् देश । विकास भयो भने पोखिने छैनन् गुनासाका पोकाहरु तर पहिचानका नाममा अन्तै मिलित भयो भने आफ्नो भूमि यसको जिम्मा लिने कसले ? यो कुरालाई धरातलमा उभिएर सोच्ने शक्ति कुन नेतामा छ ?
तराईमा थरुहट, सुदुर पश्चिममा अखण्ड सुदुर पश्चिम, मध्यपश्चिममा अखण्ड मध्यपश्चिम, पूर्वमा सीमा ठीक छ तर नेतृत्व हाम्रो हुनुपर्छ भन्ने लिम्बुवान् र खुम्बुवान् छन् । हामी धर्मयुद्धको चपेटामा नपरेका मान्छेहरु आज धर्मकै नाममा अस्तित्वको खोजी गर्दैछौँ । तर यतिबेला मौका हेरेर लुटिएको लिपुलेकका बारेमा कसले ध्यान दिएका छन् ? भारत आफू स्वतन्त्रता दिवस मनाउँछ, हाम्रोतर्फबाट शुभकामनाको अपेक्षा गर्छ तर किन खोस्दैछ हाम्रो भूमि ? हाम्रा नेताहरुमा चेतना भया ।
म संघीयताको विरोधी होइन, न हुँ विकासको बाधक । मेरो देशबाट बाहिरिँदै गर्दा जवानका पाइलाहरु हामी मूक दर्शक भएर बस्नेहरुको जमात हुनुमा गर्व गर्छाँै, र बाँड्छौँ खाडी मुलुकको फ्रि भिसा । यसले कुनै डलरको खेती गर्नेलाई त ठिकै होला तर हर दिन बाकसमा आउने लाशको प्रतीक्षामा विमानस्थलमा बगेका आँसुको भल कसले कसरी रोक्न सक्छ ? कसको पहलले फर्कन्न लास बाकसमा ?
मलाई आजकल मेरो देशका नेता भनेर सम्बोधन गर्न घिन लाग्छ । हिजो संघीयतामा जानै हुन्न भन्नेहरु आफैले संविधानमा हस्ताक्षर गरेर संघीय संरचनाको निर्माण गरेर दुईतिहाइले प्रदेशको नाम र राजधानी तोक्नेछ भन्नेहरु आज दुईतिहाइले गरेको निर्णयप्रति असन्तुष्ट भई उनीहरु नै आन्दोलन गरिरहेका छन् । के यो उनीहरुको जायज काम हो ? संघीयता लागु भइसकेको डेढ वर्ष बितिसक्दा पनि किन प्रदेशको नाम र राजधानी तोक्न सकिएको छैन ? नेपालको राज्य संयन्त्र कतिसम्म बलियो छ भन्ने कुरा यहीँबाट प्रस्ट हुन्छ ।

एकात्मक राज्य व्यवस्थाले देशको विकास नहुने हो भने बहुकेन्द्र स्तरीय राज्यको स्थापना स्वाभाविक हो र हुनुपर्छ पनि । हामीसँग काठमाडौँमात्र छैन, हुम्ला र जुम्लाका हृदयविदारक पीडाहरु पनि छन् । ती आँसुहरु पुछिनुपर्छ र पुग्नुपर्छ विकासका लहरहरु खोँचखोँचसम्म । हामी राणाहरुको दर्दनक पीडाबाट स्वतन्त्र भएको आज करिब छ दशक नाघिसकेको छ तर खै खुसीको महसुस गरेका छौँ ? हिजो राजापछि राणा र राणापछि पुनः राजा आए, त्यो व्यवस्थाको पनि विरोध गरियो र त्यसलाई पनि किनारा लगाइयो । प्रजातन्त्र खोजियो, पञ्चायत ढल्यो, राजसंस्थाको नै अवसान भयो । नेपाली जनताले आफ्नो असली क्षमता पटकपटक देखाएका छन् । त्यसको मूल्यांकन गर्न किन सकिएन ? प्रश्न र अन्योलता यहीँनेर हो ।

हामीभन्दा पछि स्वतन्त्र भएका देशहरु आज विकासको चरमोत्कर्षमा पुगिसकेका छन् । तर हामी ? हामी उही र उस्तै सोचले ग्रसित मानसिकताबाट प्रताडित छौँ । हिजो राजाको पालामा एउटा मात्र थियो हाम्रो खुसीको हत्यारा, आज आफ्नै छनोट त्यसको अग्रपंक्तिमा बसेर हामीलाई पीडाको तावामा तताइरहेका छन् । हामीले छान्न नसकेकै हौँ त नेतृत्वकर्ता ? आफैतिर फर्कन पर्ने बेला आएको छ ।
हामी जतिबेला कमजोर हुन्छौँ, असली छिमेक भारत हामीलाई त्यही बेला लुटिरहन्छ । २०६२ पछि सुस्तामा हामीलाई सुस्ताउन दिएन, लुटिछाड्यो हाम्रो भूमि । आज २०७५ सम्म आइपुग्दा उसले आफूलेमात्र लुटेन, लुट्न बोलायो अर्को छिमेकी चीनलाई । आफूलाई सर्वहारा जनताको राज्य व्यवस्थाको मालिक मान्ने देशका नेतालाई के भूमि नपुगेर लुटेको हो हाम्रो लिपुलेक ? ऊ त संसारमा जग्गामा दोस्रो धनी देश पो हो क्यारे ।
मलाई अहिले लाग्न थालेको छ, अंग्रेजहरुसँगको युद्ध बेकार थियो । स्वाभिमानका नाममा भएको गुमाएर रहँदा पनि फेरि किन आफूलाई कमजोर बनाउन विवश छौँ हामी ? यो नदेखिने पराधिनता कहिलेसम्म चलिरहन्छ ? हामी कहिलेसम्म बलात्कृत हुन्छौँ छिमेकीहरुबाट ? कहिलेसम्म खुल्दैन हाम्रा नेतृत्वकर्ताको अज्ञानताको बादल ? यदि यसै हो भने सबैले सल्लाह गरौँ र बेचिदिऊँ देशलाई । आखिर देश भएर पनि नहुनुको अनुभूतिभन्दा नभएरै नहुनुको भोगाई आरामदायी हुन्छ, हैन र ? उसै पनि मान्छे भएर मान्छेको अनुभूति छैन क्यारे ।
अझ पनि हाम्रा नेताहरुमा चेतनाको दायरा फराकिलो भएन भने हामीले कहिलेसम्म अघोषित पराधिनताको पीडा सहनु पर्ने हो ? हामीमा नै अन्योलता छ । हामी अनेक हौँ र एक छौँ भन्ने चेतनाको विकास जनस्तरबाट विकसित गरेर देश विकासमा लाग्यौँ भने अपनत्वको अनुभूति हुनसक्छ ।

 

प्रतिक्रिया दिनुहोस