तीजमा महँगा गहना लगाएर, बालबच्चा बोकेर पशुपति नआउनु : पशुपति विकाश कोष

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, १४ : २१
तीजमा महँगा गहना लगाएर, बालबच्चा बोकेर पशुपति नआउनु : पशुपति विकाश कोष

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले भोलि हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महँगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ ।

हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मंहगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको हो ।

भीडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन आग्रह गरेको पशुपति विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताए ।कोषले हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले दर्शनको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक,पार्किङ स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा भइसकेको जनाएको छ ।

अन्य दिनमा बिहान ४ बजेदेखि दर्शनको लागि चारै ढोका खोलेपनि तीजको लागि भने बिहान ३ बजेदेखि नै ४ वटै ढोका खुल्ला गरिने भएको छ । यस वर्ष चक्रपथको सवारी आगमन पूर्ण रूपमा नरोकिने प्रवक्ता अधिकारीले बताए ।

तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस