दुना टपरी बनाउन मशिनको प्रयोग

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, १३ : १६
दुना टपरी बनाउन मशिनको प्रयोग

झापा। वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मशिनद्वारा उत्पादन गर्ने तयारी गरेका छन् ।​

झापाको कनकाई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समिति र मेचीनगर नगरपालिकामा रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नम्बर २ ले मशिनबाट सालको पातको दुना टपरी उत्पादनको तयारी गरेका हुन् । दुवै सामुदायिक वनलाई डिभिजन वन कार्यालयले मशिन अनुदानमा उपलब्ध गराएको जनाएको छ ।

पाँच लाख रुपैयाँ मूल्य बराबरको मशिन गत वर्ष जामुनखाडी र यसवर्ष मागुरमाडीलाई उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताए । 

उनले सामुदायिक वन उपभोक्ता समितिले अति विपन्न तथा गरिब उपभोक्ताको छनोट गरी दुना टपरी बनाइ स्वरोजगार बनाउनुपर्ने बताए । बजारमा भारतबाट आयातीत प्लाष्टिकका सामग्रीलाई यसले विस्थापित गर्ने उनको भनाइ छ । 

सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले स्थानीय वनले उत्पादन गरेका दुना टपरीको बजारीकरणमा सहयोग गर्ने बताए । नेपालीको जन्मदेखि मृत्यु सँस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने उनको भनाइ छ ।

यसअघि जिल्लामा सुपारीको पातको दुना टपरी बनाउने कारखाना स्थापना भए पनि सालको पातको टपरी बनाउने मशिन भने पहिलोपटक ल्याइएको हो ।

दशैं अघिदेखि नै दुवै सामुदायिक वनले उपभोक्तामार्फत दुना टपरी उत्पादन शुरू गर्ने जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरीले बताए । 

प्रतिक्रिया दिनुहोस