सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचमा छु ।’
सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले अहिले नै नेतृत्व हस्तान्तरण उपयुक्त नहुने बताए । अध्यक्षभन्दा माथि प्रचण्ड भइसकेको भन्दै उनले पार्टीको अध्यक्षमै रहिरहने सोचमा नरहेको बताए । ‘अध्यक्ष भन्ने पद मेरालागि त्यति ठूलो छैन,’ उनले भने, ‘संसारले नै प्रचण्डलाई ठूलो परिवर्तनको संवाहकका रूपमा स्वीकारेको अवस्थामा मलाई अध्यक्ष हुनैपर्छ भन्ने नै छैन ।’
उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए । ‘नेतृत्वको बारेमा जहिले पनि छलफल भइराख्छ । तर अहिले नै नेतृत्व हस्तान्तरणको कुरा त्यति उपयुक्त छैन,’ उनले भने ।
उपमहासचिव जनार्दन शर्माले ल्याएको प्रतिवेदनमा पनि अहिले नै अध्यक्ष छोडेर अर्को अध्यक्ष बनाउने नभनेको उनले बताए ।अध्यक्ष प्रचण्डले माओवादी केन्द्र फुट्छ भन्ने हल्ला डिजाइन गरेर बाहिर ल्याइएको जिकिर गरे । पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेको र भएका विवाद पनि समाधान भएको उनको दाबी छ ।
एक फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले एमाले सांसद्हरुले सदनमै जनयुद्धलाई ‘हिंसा’ शब्द प्रयोग गर्नु जायज नभएको बताए । संविधानले विस्तृत शान्ति सम्झौतालाई नै संविधानकै अङ्ग बनाएकाले एमाले सांसदहरूले त्यसरी बोल्न नहुने उनले बताए ।
‘संविधानमै सशस्त्र युद्धको कुरा, जनयुद्धको कुरालाई, व्याख्यात्मक टिप्पणीमा ‘माओवादी जनयुद्ध’ भनेरै शब्द प्रयोग गरिएको छ । त्यसमा सबैको सहमति हो,’ अध्यक्ष प्रचण्डले भने, ‘एक समय जसले हिंसा भनेर शब्द प्रयोग गर्नुभयो उहाँले त जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो ।’ उनले माओवादी केन्द्रको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्दा राम्रो हुने बताए ।
भ्रष्टाचारलाई संरक्षण गर्नका लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी समेत दिए । ‘गलत गरे छोड्दैनौँ, यो विद्रोहको भाषा होइन’, उनले भने, ‘सदन र सडक दुवै ठाउँमा प्रतिकार गर्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : प्रचण्ड
‘प्रचण्ड’ले ‘विप्लव’लाई सुनाए नेकपासँग एकता गर्ने पार्टीको निर्णय
विप्लव निवास पुगे माओवादी अध्यक्ष प्रचण्ड
पर्वतारोहण सङ्घको नवनिर्वाचित नेतृत्वलाई प्रचण्डले दिए बधाई
दलाल र बिचौलियाहरू अब माओवादीमा रहन पाउँदैनन् : प्रचण्ड
समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन्: प्रचण्ड