मधेसमा आज राखीपर्व मनाइँदै

सफल खबर संवाददाता

सोमबार, ०३ भदौ २०८१, १० : २६
मधेसमा आज राखीपर्व मनाइँदै

महोत्तरी । मधेसको महोत्तरीसहित विभिन्न जिल्लामा आज ‘राखी’ पर्व मनाइँदैछ। 

साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई यहाँ ‘राखी’ भनिने गरिएको हो।

यसपालिको राखीपर्व मध्याह्नपछि दिउँसो गरिनुपर्ने पुरोहितको भनाइ छ। आजको पूर्णिमा तिथिको ४७ घडी १९ पला भोगमध्ये सुरुका १९ घडी ४५ पलामा भद्रा करण परेका हुँदा सो कटाएर राखी बाँधिनुपर्ने पुरोहित बर्दिबास–२ का महेशकुमार झाले बताए। 

चन्द्रमास गणनामा तिथिको आधा भागलाई करण भनिन्छ। जम्मा ११ करणमध्ये भद्राको भोगभरि शुभकार्य शास्त्रले बर्जित गरेको हुँदा यो कटाएर आज राखी मनाइनुपर्ने उनले स्पष्ट पारे। आज भद्रा करणको भोग अपराह्न १ः३१ सम्म रहने हुँदा सो समय कटाएर राखी बाँधिनुपर्ने झाले स्पष्ट पारे।

यस क्षेत्रका बजारमा रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन्। पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न र¬ङका रक्षासूत्र (राखीं किन्न मिथिलानी (मिथिलाका नारी)को भीड नै देखिएको छ। राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्टान्न परिकारको जोहोमा लागेकाले मिठाइ पसल पनि आज एकाबिहानदेखि भरिभराउ छन्।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन्। मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन्। अविवाहित चेलीको त दाजुभाइसँगैको घर आफ्नो भएकाले यिनीहरू घरमै पर्वको तयारीमा छन्। स–साना नानीहरूका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्छन्।

मिथिलाका सबै क्षेत्रमा आज दाजुभाइ, दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्केका गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ। 

प्रतिक्रिया दिनुहोस