महोत्तरी । मधेशको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग प्रचलनमा छन् । दुवै पञ्चाङ्गको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको यो महिना चाडवाड सुरु हुने सूचनाका रूपमा मानिन्छ ।
साउन कृष्णपक्षको पञ्चमीबाटै मिथिलामा पर्व प्रारम्भ हुन्छ । वर्षको पहिलो पर्व मौन साधनाका लागि प्रसिद्ध छ । बर्तालुले दिनभरि उपवाससँगै मौन व्रत गरेर आत्मसंयम र आत्मनिरीक्षण गर्छन् । यो पर्वसँगै नवविवाहिता मिथिलानीको मधुश्रावणी पर्व सुरु हुन्छ । यसैगरी लगपाँच (नागपञ्चमी) यसै महिनामा साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । मिथिलाको प्रसिद्ध झुलनोत्सव साउन शुक्ल त्रितीयासँगै सुरु हुन्छ । यी सबै पर्वमध्ये साउन पूर्णिका दिन मनाइने ‘राखी’ विशिष्ट पर्व मानिन्छ ।
मिथिलामा साउन शुक्लपक्ष सुरु हुनासाथै राखीको चहलपहल सुरु हुन्छ । खासमा यो पर्व दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र समर्पणको प्रतीक मानिन्छ । साउन पूर्णिमा नजिकिएसँगै अहिले महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक छाएको छ । मिथिलामा आउने शनिबार राखी पर्व मनाइँदैछ ।
पर्व नजिकिएसँगै यहाँ दाजुभाइ दिदीबहिनीबीच प्रेम दर्शाउने गीत गुञ्जँदा छन् । पर्वको तयारीले अहिले सम्पूर्ण मिथिला क्षेत्र राखीमय बन्दो छ । ठूला सहर होउन् वा ग्रामीण परिवेशका बजार होउन्, सबैतिर दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका राखी (धागोका डोरा) बेच्न राखिएका छन् । पर्वविशेषमा दिदीबहिनीको चासो र सरिकता बढ्दो छ । अहिले मिथिलामा किशोरी र नवयौवना मिथिलानी एकआपसमा भेट हुँँदा गरिने कुराकानी राखीकै तयारीसँग जोडिएको हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०८२, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा आज राखीपर्व मनाइँदै