महोत्तरी । मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा आज राखी पर्व परेको छ । साउन मध्ययता पानी पर्न थालेपछि ढिलै भए पनि धान रोपाइँ गर्न पाएका मैथिल (मिथिलाका बासिन्दा) आज खुसीसाथ राखी पर्व मनाउँदै छन् ।
चन्द्रमासको साउन पूर्णिमाका दिन मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र आपसी सद्भावको प्रतीक मानिन्छ । पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नारीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिलानै केही दिन पहिलेदेखि नै राखीमय बनेको छ । पर्वले आज सखारेदेखि बजारु चहलपहल निक्कै बढेको छ ।
मुख्यत साउन मध्ययता भइरहेको पछिल्लो बर्सातले पर्वमा हासीखुसी छाएको छ । ढिलै भए पनि मुख्यबाली धान रोप्दै राखी मनाउन पाइनुले यसलाई मैथिलले पर्वको सुलक्षण भएको बताएका छन् । “यसपालि लामो खडेरी पर्यो, समयमा बाली लगाउन नपाएको चिन्ता थियो, साउन शुक्लपक्षले राहत नै दियो” जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र राय भन्छन्, “यो साउने पूर्णिमाको सुलक्षण हुनपर्छ । यो साउन शुक्लपक्षको वर्षाले पर्व रमाइलो बनाएको रायको कथन छ । “खेतीपातीका काम राम्ररी नचल्दा चाडपर्व निरस हुन्छन्” राय भन्छन्, “राखी पर्व पछिल्लो वर्षाले खुसीसाथ मनाउने अवसर दिएको छ ।”
राखी पर्वले केही दिन पहिलेदेखि नै बजारमा चहलपहल बढेको छ । जता हेर्यो रङ्गीचङ्गी ‘राखी’ सजाएर बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र (राखी) किन्न केही दिन पहिलेदेखि नै यस्ता पसल अगाडि मिथिलानी (मिथिलाका नारी) को जमघट देखिँदै आएको छ । राखीसँगै पर्वमा दाजुभाइलाइ ख्वाउन मिष्टान्न परिकारको जोहोमा मिथिलानी छन् । यसले आज सखारैदेखि मिठाई पसलमा भीडभाड देखिएको छ ।
पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी र मैथिल नवयौवना ब्यस्त देखिँदा छन् । ससाना नानीहरूका लागि पर्वको तयारीमा घरका अभिभावकले सहयोग गर्दैछन् ।
मिथिलाका सबै क्षेत्रमा दाजुभाइ/दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको छ । हिन्दू मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा समान रूपले लोकप्रिय बनेको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (बोलीचालीमा गुरुकुल) का प्रधानाधयापक ईश्वरी पौडेल बताउछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०८२, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरु भयो राखीको चहलपहल
मधेसमा आज राखीपर्व मनाइँदै