भरतपुर महानगरको उनान्तीस नम्बर वडा पूर्णखोपयुक्त घोषित

शुक्रबार, १४ पुस २०७४, १७ : ५६
भरतपुर महानगरको उनान्तीस नम्बर वडा पूर्णखोपयुक्त घोषित

कविलास । भरतपुर महानगरपालिका वडा नम्बर २९ लाई शुक्रबार एक कार्यक्रमबीच पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख एवं कविलास स्वास्थ्यचौकी संरक्षक रेनु दाहालले एक कार्यक्रमबीच २९ नम्बर वडालाई पूर्णखोपयुक्त घाषणा गर्नु भएको हो । पूर्णखोपयुक्त वडा घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले बालबालिका तथा मातृ सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्नुपर्ने बताउनु भयो ।
उहाँले वडा नम्बर २९ ले सफलताका साथ खोप अभियान पूरा गरेकोमा कविलास स्वास्थ्य चौकीलाई धन्यवाद दिनुभयो । प्रमुख दाहालले पूर्ण खोप घोषणालाई अभियानको रूपमा अगाडि बढाउनु पर्ने बताउँदै भरतपुर महानगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले भरतपुर महानगरपालिका प्रभावकारी स्वास्थ्य सेवा दिन सक्षम रहेको भन्दै सबैको सहयोगले त्यसलाई अझ प्रभावकारी बनाइने बताउनु भयो ।
उहाँले आउँदा दिनहरूमा कुनै पनि प्रकारका खोपको अभावमा बालबालिकाहरूको शारीरिक, मानसिक समस्या र अकालमा मृत्यु हुन नहुने विचार व्यक्त गर्नुभयो । उहाँले पूर्णखोपयुक्त वडा घोषणाले कविलास स्वास्थ्य चौकी, कार्यरत स्वास्थ्कर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, स्थानीय राजनीतिक पार्टीका नेता, कार्यकर्ता, नागरिक समाजकासाथै यो अभियान संचालन गर्न सहयोग पु¥याउने  सम्पूर्णमा जिम्मेवारी थपिएको बताउनु भयो । 
महानगरको अलि विकटजस्तो रहेको वडा नम्बर २९ को विकासका लागि आफू लागिपर्ने बताउँदै उनले यस वडाको पहाडी भागमा बसोबास गर्ने चेपाङ, दलित तथा जनजाति समुदायलाई शिक्षा, स्वास्थ्य,  विकास र समृद्धिको अनुभूति हुने गरी प्रभावकारी ढंगले अगाडि बढाउने बताउनु भयो ।
कविलास स्वास्थ्यचौकीका प्रमुख भविश्वर अधिकारीले खोप अभियानको बारेमा प्रतिवेदन पेश गर्नु भएको थियो । प्रतिवेदनका अनुसार, वडा नम्बर २९ मा जन्मेदेखि १ वर्ष उमेर समूहका १ सय ४४ जना बालबालिका र एक वर्षदेखि २ वर्ष उमेर समूहका १ सय ४१ जना बालबालिकालाई बीसीजी, डीपीटी, हेपाटाइटीस बी, पोलियो थोपा तथा दादुरा लगायतको खोप लगाइएको थियो ।
महानगरपालिका २९ नम्बर वडा अध्यक्ष मानबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख शम्भुप्रसाद ज्ञवाली, जनस्वास्थ्य निरीक्षक विजय झा, कविलास माविका प्रधानाध्यापक घनश्याम घिमिरे, राजनीतिक दलका प्रतिनिधिहरूले आआफ्नो धारणा राख्नु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस