काठमाडौं। संयुक्त राज्य अमेरिकाले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएको छ । हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले सोमवार स्पष्ट पारेको हो ।
हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको बताएका हुन् ।
बङ्गलादेशको राजनैतिक परिवर्तन त्यहाँका जनताको छनोट रहेको बताउँदै उनले बङ्गलादेशी जनताले नै आफ्नो सरकारको निर्माण र विघठनको गर्न पाउनु पर्छ भन्ने पक्षमा अमेरिका रहेको प्रष्ट्याए ।अपदस्थ भएपछि हसिनाले विदेशी शक्तिलाई बङ्गलादेश सरकारले सैन्य विमानस्थल (एयरबेस) निर्माण गर्न अनुमति नदिएपछि आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएकी छिन् ।
हसिनाका छोरा तथा पूर्वसरकारी सल्लाहकार सजीब वाजेद जोयले पनि अज्ञात विदेशी शक्तिले बङ्गलादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्यपि उनले कुनै प्रमाण भने पेश गरेका थिएनन् ।
अमेरिकाको सामान्यतया बङ्गलादेशसँग मैत्रीपूर्ण सम्बन्ध छ । यद्यपि हालको अवस्थामा अमेरिका र बङ्गलादेशी पूर्वशासकबीच आरोप–प्रत्यारोपको श्रङ्खला चलिरहेको देखिन्छ । बङ्गलादेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १६ : १५
लेखकबाट थप