न्यूजिल्यान्डले गर्‍यो भिसा शुल्कमा भारी वृद्धि

सफल खबर संवाददाता

सोमबार, २८ साउन २०८१, १३ : ४५
न्यूजिल्यान्डले गर्‍यो भिसा शुल्कमा भारी वृद्धि

न्यूजिल्यान्डले गर्‍यो भिसा शुल्कमा भारी वृद्धि न्यूजिल्यान्ड सरकारले भिसा शुल्कमा भारी वृद्धि गरेको छ । सन् २०२४ को अक्टोबर १ देखि लागू हुने गरी लगभग सबै श्रेणीका भिसा शुल्कमा भारी वृद्धि गरिएको छ । करदाताहरुको वित्तीय भार भिसा आवेदकहरूमाथि सारेर थप दिगो अध्यागमन प्रणाली सृजना गर्न सो कदम चालिएको अध्यागमन मन्त्री एरिका स्ट्यान्फोर्डले भनेकी छिन् ।

यो हेरफेरले आगामी चार वर्षमा सार्वजनिक राजस्व ५६ करोड ३० लाख न्यूजिल्यान्ड डलरले बढ्ने अपेक्षा गरिएको छ । अहिलेको अध्यागमन प्रणालीमा करदाताहरुले तिरेको पैसाका कारण खर्च कम भएकोमा पनि स्ट्यान्फोर्डले जोड दिएकी छिन् । अध्यागमन प्रणालीलाई आफ्नो खर्च आफैं जुटाउन सक्ने र प्रभावकारी बनाउन यसो गरिएको पनि उनले बताइन् । बढाइएको शुल्कले भिसा प्रोसेसिङ र उच्च जोखिम भएका आवेदकहरूको व्यवस्थापनको खर्च बेहोरिने पनि उनले बताएकी छिन् ।

न्यूजिल्यान्डको भिसा शुल्क अष्ट्रेलिया र बेलायतको तुलनामा प्रतिस्पर्धात्मक रहने पनि उनले बताइन् । यो परिवर्तन लागू भएपछि विद्यार्थी भिसा शुल्क हालको ३७५ न्यूजिल्यान्ड डलरबाट बढेर ७५० न्यूजिल्यान्ड डलरमा पुग्ने छ । यो वृद्धिपछि पनि न्यूजिल्यान्डको विद्यार्थी भिसा शुुल्क अष्ट्रेलियाको भन्दा निकै कम हुनेछ । हालै मात्र अष्ट्रेलियाले विद्यार्थी भिसाको शुल्क दोब्बर बनाउँदै १ हजार ६०० अष्ट्रेलियन डलरमा पुर्याएको थियो । पछिल्लो समय न्यूजिल्यान्ड पढ्न जोन विदेशी विद्यार्थीको संख्या बढेको छ । सन् २०२३ मा ६९ हजार १३५ जनजा विदेशी विद्यार्थी त्यहाँ पढ्न आएका थिए । यो सन् २०२२ को तुलनामा गएको वर्ष त्यहाँ ६७ प्रतिशत धेरै थियो ।

प्रतिक्रिया दिनुहोस