संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रका मानवतावादी संस्थाले शुक्रबार पछिल्लो इजरायली निकासी आदेशपछि कम्तिमा ६० हजार गाजवासी विस्थापित भई पश्चिमी खान युनूसतर्फ सरेको अनुमान गरेको छ ।
मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले उत्तरी र दक्षिणी गाजाको लगभग ४३ वर्ग किलोमिटर क्षेत्रमा यस हप्ता इजरायलले निकासी आदेश जारी गरेको जानकारी दिएको छ ।
ओसिएएचएले गाजामा आफ्ना साझेदारद्वारा करिब २३० विस्थापनस्थल, तीन दर्जन भन्दा बढी पानी, सरसफाइ , अस्पतालसहित स्वास्थ्य सुविधाको व्यवस्था गरेको जनाएको छ ।
गाजापट्टीको ८० प्रतिशतभन्दा बढी भूभागमा गत अक्टोबरदेखि निकासी आदेश जारी गरिएको अनुमान ओसिएएचएले गरेको छ । विपक्षीहरू बीच बढ्दो शत्रुता, सहायता अवरोध, असुरक्षालगायतका कारण गाजामा सहायता आपूर्ति चुनौतीपूर्ण बनेको कार्यालयले जनाएको छ ।
मे महिनाको सुरुदेखि रफाह क्रसिङ्ग बन्द भएपछि गाजामा सहायताको मात्रा आधाभन्दा बढी घटेको ओसिएचएले जानकारी दिएको छ । यसै गरी विगत तीन महिनामा केरेम शालोम क्रसिङबाट भित्रिने सहायतामा ८० प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।
पछिल्लो समयमा मानवीय सहायताका लागि आवश्यक समन्वयको अनुरोधलाई इजरायली अधिकारीहरूले बारम्बार अस्वीकार र अवरोध गरेको ओसिएइचएले जनाएको छ ।
कार्यालयको अनुसार चालु महिनामा उत्तरी गाजामा जारी ६७ सहायता मिसनमध्ये २४ वटालाई मात्र इजरायली अधिकारीहरूले सहयोग गरेका थिए । बाँकीलाई सुरक्षा परिचालनलगायतका कारण देखाई रद्द गरेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २६ साउन २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
यमनका हुथी विद्रोहीद्वारा नियन्त्रणमा लिइएका सहायता कर्मचारीलाई रिहा गरिएको राष्ट्रसंघको घोषणा
लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : राष्ट्रसंघ